■ सनत आचार्य
बन्दाबन्दीका कारण गत चैत्र महिनादेखि बन्द भएका केही साुदायिक विद्यालय र निजी विद्यालयहरू स्थानीय निकायको समन्वयमा क्रमशः खुल्ने प्रक्रियामा छन् । राजधानी काठमाडौं, तनहँु, दाङ, सल्यान लगायतका जिल्लामा केही सामुदायिक विद्यालयहरू सञ्चालनमा आइसकेका छन् भने अन्य जिल्लाहरूमा पनि पूर्व तैयारी भइरहेको जानकारी प्राप्त भएको छ ।
बढ्दो कारोना संक्रमणबीच विद्यालय खुलेसँगै आफ्ना बालबच्चाप्रति चिन्तित हुँदै कतिपय अभिभावकमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न भएको पाइएको छ भने लामो समयदेखि घरभित्रै थुनियर बसेका र बन्दाबन्दीको समयमा वैकल्पिक माध्यमद्वारा अध्ययन गरिरहेका विद्यार्थीहरूमा चाहिँ खुसी छाएको पनि देखिएको छ ।
त्यस्तै, शिक्षा क्षेत्रमा काम गर्ने अभियन्ताहरूले भने देशभर कोरोना संक्रमण बढेसँगै विद्यालय खोल्न हतार गर्न नहुने तर वैकल्पिक सिकाइको व्यवस्थाबाट विद्यार्थीहरूलाई दीक्षित गरिनुपर्ने आशय व्यक्त गरेका छन् ।
नेपालमा नयाँ शैक्षिक वर्ष शुरुवातको पूर्वसन्ध्यामा विद्यालयहरू एकाएक बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो, जसका कारण परीक्षाका लागि निकालिएको सूचना समेत रद्ध गर्नु परेको थियो । बन्दाबन्दी शुरु भयो र पचासौँ लाख विद्यार्थीहरू घरमै बस्न बाध्य भए ।
बन्दाबन्दीको करिव २ महिनापश्चात् कतिपय निजी विद्यालयहरूले वैकल्पिक शिक्षा भनेर टेलिभिजन, इन्टरनेट र रेडियोबाट समेत पढाउने उपाय निकाले । वैकल्पिक पढाई अभिभावकबाट ‘नाजायज शुल्क असुल्ने माध्यम’ भन्दै यसको चर्को विरोध भयो । यसै विषयलाई लिएर सरकार र निजी विद्यालय सञ्चालकहरू बीच विज्ञप्तिमाथि विज्ञप्ति पनि आए । यद्यपि शुल्क विवाद अझै जारी नै छ ।
मासिक शुल्कको विवाद, कोरोना संक्रमण, त्रास आदिका बीच पनि सामुदायिक विद्यालयहरूले पढाई शुरु गर्नु त्यति सजिलो छैन । गत सेप्टेम्बर महिनामा भारतमा ९ देखि १२ कक्षासम्म पढाई हुने केही विद्यालयहरू स्वयंसेवी रुपमा पढ्न आउने विद्यार्थीका लागि सञ्चालनमा आए ता पनि दिल्ली लगायत ५ राज्यले विद्यालय सञ्चालनका लागि अनुमति दिएनन् ।
यो समयमा बंगलादेश र नेपालले भने वैकल्पिक शिक्षामा जोड दिए । श्रीलंकामा आधारभूत सुरक्षाका उपाएहरू अवलम्बन गर्न गाह्रो भन्दै मास्क प्रयोगलाई मात्र अनिवार्य गराइयो । केही समयसम्म सञ्चालनमा आएका विद्यालयहरू सरकारद्वारा निर्माण गरिएका स्वास्थ्य र शिक्षासम्बन्धी मापदण्ड पालना नगरेका कारण पछि बन्द भए ।
पाकिस्तानमा पनि विद्यालयहरू सञ्चालनमा ल्याइयो तर ३० भन्दा बढि विद्यालयले सरकारद्वारा तैयार पारिएको शिक्षा र स्वास्थ्य मापदण्डको पालना नगरेका कारण पछि बन्द गरियो भने निजी विद्यालय संचालकहरूले पनि सरकारले आवश्यक सहयोग नगरेको र कोरोना परीक्षणलाई बेवास्ता गरेको भन्दै पुनः विद्यालय सञ्चालन गर्न मानेनन् ।
कोभिड महामारीको समयमा विद्यालय सञ्चालन गर्दा अभिभावक, शिक्षक र विद्यार्थी सबैको दायित्व समान रहन्छ । पठाउने, ज्ञान दिने र विद्यालयलाई सुरक्षित बनाउने काम शिक्षकको हो भने विद्यालयमा सिकाएका कुराको पालना गरे वा गरेनन्, आफ्ना बालबालिकाहरू के कस्ता अवस्थामा छन् र कहाँ कहाँ सम्पर्क राख्दछन् ? सुरक्षित बस्छन वा बस्दैनन् भनी हेर्ने र ध्यान दिने काम अभिभावकको पनि हो । विद्यार्थीले पनि विद्यालय, घर लगायतका क्षेत्रमा आफूलाई सुरक्षित राख्ने र नियमहरू पालना गर्नेतर्फ हरदम सजग हुनु पर्दछ । यी सबैको तारतम्यले मात्र सुरक्षित बसाई र पढाई सम्भव हुन्छ ।
पछिल्लो चरणमा नेपालमा केन्द्रीय र स्थानीय सरकारले सामुदायिक विद्यालयहरू मात्र सञ्चालनमा जोड दिएका कारण निजी विद्यालयहरूले पर्ख र हेर भन्ने नीति अवलम्बन गरेता पनि नयाँ शैक्षिक शत्रका लागि भन्दै भित्रभित्रै भर्ना लिइरहेको पनि देखिन्छ । तर कोभिड महामारीका बीच सञ्चालनमा आउने विद्यालय संचालका लागि तपशिल बमोजिमका उपायहरू अवलम्बन गर्न आवश्यक देखिएको छ ।
विद्यालय सञ्चालनपूर्व विद्यालय परिवारले सञ्चालन गर्दा हुने फाइदा (आर्थिक बाहेक) र जोखिम के–के छन् भनी विश्लेषण गर्न आवश्यक छ । यसको लागि भौतिक संरचना र जनशक्ति लगायतका विषय समेटिनु पर्दछ । त्यस्तै, तत्काल चाहिने अस्पताल, एम्बुलेन्स र स्वास्थ्य सेवा प्रदान गर्न सक्ने जनशक्तिका बारेमा पनि विश्लेषण गरिनु पर्दछ ।
पहिलो कुरा, आगामी दिनमा कक्षा सञ्चालन गर्दा ८ कक्षा भन्दा माथिका कक्षाहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । किनभने कोरोना सरुवा रोग हो । यो उमेरका विद्यार्थीहरूमा चेतनाको स्तर अलि बढि रहन्छ र रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति पनि बढि हुन्छ । तल्लो कक्षाका साना विद्यार्थीहरूले नीति-नियमको पालना पनि त्यति गरेको पाइँदैन । त्यसकारण यो समुहकालाई लक्षित गरी कक्षा सञ्चालन गर्दा राम्रो हुने देखिन्छ ।
दाश्रो, कोभिड–१९ का बारेमा सचेतना कक्षा । हुन त कोभिड संक्रमणबाट कसरी जोगिने भन्ने सन्दर्भमा अधिकांश विद्यार्थीहरूमा जानकारी नभएको भने होइन, तर पनि विद्यालयको तर्फबाट पनि यससम्बन्धी शिक्षा दिन आवश्यक छ । खासगरी व्यक्तिगत सरसफाई र सामाजिक दूरीका कायम राख्ने विषयमा बढि केन्द्रित हुन आवश्यक छ ।
विद्यार्थीलाई अनुहार, आँखा, मुख र नाकलाई हातले नछुने, आफ्नो पानी, खानेकुरा, खाना र पेय पदार्थ अरुसँग बाँडेर नखाने, कोरोना रोगका बारेमा परिवार, साथीहरूसँग छलफल गर्ने र परिवारमा रहेका आफूभन्दा साना भाइ–बहिनीहरूसँग अनिवार्य रूपले छलफल गर्ने र जानकारी दिने जस्ता कुराहरू सिकाइनु पर्दछ ।
सकिन्छ भने प्रत्येक कक्षापश्चात सेनिटाइजरको प्रयोग अनिवार्य गरिनु पर्दछ । यसका लागि सेनिटाइजर घरबाट लिएर आउने वा विद्यालयले न्युनतम शुल्क लिएर व्यवस्था गर्न पनि सकिन्छ ।
त्यस्तै, सचेतनाका लागि विद्यालय परिसरभित्र विभिन्न स्थानमा फ्लेक्सहरू निर्माण गरी गर्ने र नगर्ने कुराहरू उल्लेख गर्दा अधिकांश विद्यार्थीहरूलाई सचेत र जिम्मेवार बनाउँदछ ।
अर्को, मास्कको अनिवार्य प्रयोग र भौतिक दूरी कायम गर्ने । सबै विद्यार्थीलाई मास्कको प्रयोग अनिवार्य गरिनु पर्दछ भने भौतिक दुरी कायम गर्न पनि अति नै आवश्यक बनाइनु पर्दछ । यसको अनुगमनका लागि विद्यालयका सुरक्षा गार्ड तथा कक्षाका मोनिटरहरूलाई आलोपालो गरी अनुगमन गर्न खटाइनु पर्दछ ।
विद्यालय हाताभित्र विद्यार्थी संख्याको आधारमा ठुला–ठुला पानीका टंकीहरू तैयार गरी विद्यालय प्रवेश गरेपछि र घर जाँदा अनिवार्य रुपले साबुनपानीले २० सेकेन्ड मिचिमिची हात धुने वातावरण मिलाइनु पर्दछ ।
समुहमा हिँड्दा बढिमा ८ जना सम्मलाई हिँड्न दिने र यसरी हिँड्दा समेत भौतिक दूरी कायम गर्न अनिवार्य गरिनु पर्दछ । जोडिएर हिँड्ने विद्यार्थीहरूको बानीलाई निरुत्साहित गर्नु पर्दछ ।
शौचालय जाँदा पनि ठूलो समुहमा नगई सानो–सानो समुह या एक्लै मात्र जाने वातावरण मिलाइनु पर्दछ ।
विद्यालय खुल्नुपूर्व र बन्द भइसकेपछि बेन्च, टेबुल र कुर्सीलगायत सबै कक्षा कोठाहरूलाई निसङ्क्रमित तुल्याइनुपर्छ ।
चमेना गृह लगायत अन्य स्थानमा बढि भीडभाड गर्न नदिने सो स्थानमा पनि बढिमा ८ जनालाई मात्र प्रवेश दिनु पर्दछ ।
एउटा बेन्चमा २ जना मात्र बस्ने व्यवस्था मिलाउनु पर्दछ । यदि विद्यार्थी संख्या बढि छ भने आधा–आधाको संख्यामा पालैपालो पढाउने वातावरण मिलाइनु पर्दछ वा ४० जना कक्षामा छन् भने २० जनालाई ३ दिन र बाँकी २० जनालाई ३ गरी आलोपालो हिसावले पनि पढाउन सकिन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको कक्षा कोठाभित्र प्राकृतिक हावाको आवतजावत सजिलैसँग हुने गरी झ्यालढोकाहरू खुल्ला राख्ने गर्नु पर्दछ । यदि कोठाभित्र हिटर वा वातानुकुलितको व्यवस्था छ भने यसलाई नियमित सरसफाई गर्नु पर्दछ ।
शौचालयमा जाने–आउने आउने विद्यार्थी संख्या सीमित गर्न पनि आवश्यक छ । सकेसम्म कम विद्यार्थी पालैपालो जाने व्यवस्था मिलाउनु पर्दछ ।
यदि कुनै विद्यार्थीले सार्वजनिक यातायात वा विद्यालयको निजी सवारी साधन प्रयोग गर्दछ भने आफू कसरी सुरक्षित बस्ने भन्नेतर्फ ध्यान दिनु पर्दछ ।
कतिपय अवस्थामा विद्यार्थीहरू सुरक्षित भएता पनि शिक्षकबाट संक्रमण सर्न सक्ने खतरा हुन्छ । तसर्थ पढाउँदा शिक्षकले विद्यार्थीलाई नछुने । सहकर्मी शिक्षक र विद्यार्थीबीच दूरी कायम राख्ने, गृहकार्य जाँच गर्ने कार्यलाई कम गर्ने र ६० वर्ष भन्दा माथिका शिक्षकहरूलाई (यो समुहका शिक्षक बढि जोखिममा हुन्छन्) पठनपाठनमा केही समयका लागि संलग्न नगराउने गर्दा उत्तम हुन्छ ।
त्यस्तै विद्यालयमा रहेका अन्य सहयोगीहरूले पनि माथि उल्लेखित कुरामा ध्यान दिए कोरोना संक्रमणबाट आक्रान्त रहेको शैक्षिक क्षेत्रलाई क्रमशः माथि उकास्न सकिन्छ भने विद्यार्थीका लागि पनि सुरक्षित सिकाई र पढाई हुन सक्दछ ।
अन्यथा विद्यालयमा कोरोना संक्रमण बढ्यो भने यसले भयावह रुप लिने र पुनः विद्यालय बन्द हुने अवस्था नआउला भन्न सकिँदैन ।
– बेल्जियम


प्रतिक्रिया