तीन महिला राजदूत : सुनाम, नाम र गुमनाम !

तीन महिला राजदूत : सुनाम, नाम र गुमनाम !


■ राजन घिमिरे

यतिबेला मुलुकमा ‘राजदूत’ नियुक्तिको विशेष चर्चा छ । प्रधानमन्त्री ओलीले आफ्नै झापा जिल्लासँग जन्मको नातो जोडिएका युवराज खतिवडालाई अमेरिकाको लागि राजदूत सिफारिस गरेको सन्दर्भलाई लिएर सचेत नेपाली तप्काले गुलियो भन्दा ज्यादा तिक्त प्रतिक्रिया ओकलिरहेका छन् । तर, यस लेखोटमा खतिवडालाई प्रधानमन्त्रीले किन यत्रो महत्व दिएर पुल्पुल्याए भन्ने विषयमा चासो प्रकट गर्न खोजिएको होइन । चर्चा भने राजदूतहरूकै गर्न खोजिएको हो ।

राजदूत पद आफैमा सर्वस्व नै त होइन । त्यो पदको गरिमा, मान, शान र सम्मान सम्बन्धित पद ओगटेर बस्नेहरूले बुझ्न सक्नुपर्छ । त्यसमाथि देश–देश र जनता–जनताबीचको सम्बन्धलाई सुमधुर अनि प्रगाढ बनाउन, देशलाई हित हुने योजना–आयोजनामा लगानी गर्न–गराउन र भावी पुस्ताका लागि समग्र कोणबाट सकारात्मक छाप छोड्न राजदूतले निभाउने भूमिका र सक्रियताले ठूलो महत्व राख्दछ । देश–देशबीचको उदाहरणिय इतिहास लेख्न–लेखाउन पनि राजदूतको क्षमता र व्यवहारले भूमिका निभाउँछ ।

पद हातमा पर्दैमा राज्यले दिएको जिम्मेवारी निर्वाह गर्न सकिन्छ भन्ने छैन । सरकारले तोकिदिएको अवधिभर शानको जीवन बाँच्ने, सेवा–सुविधा लिने, उपभोग गर्ने तर मूलुक र जनताको हितको पक्षमा केही गर्न नसक्नेले राजदूतको पद च्यापेर बस्नुको अर्थ के ? सरकारले तोकिदिएको अवधि गुजार्ने मात्र कि कार्यक्षमता देखाएर देशलाई गुन लगाउँदै वाहवाही कमाउने ? यो कुरा राजदूतको सोच, क्षमता र कार्यशैलीमा नै भर पर्छ । यहाँ चर्चा गर्न खोजिएको राजदूतको जिम्मेवारीमा रहेका महिला व्यक्तित्वहरूको हो, जसका बारे शुरुमा ठानिएको र अहिले देखिएको कर्तव्यपरायणतामा भिन्नता पाइएको छ ।

पछिल्लोपटक राजदूत भएर विदेश पुगेका महिला राजदूतहरूको कुरा गर्दा थोरै समयमा दुई राजदूत डा. अन्जान शाक्य र शर्मिला पराजुली ढकालको यतिबेला स्वदेश र उहाँहरू कार्यरत सम्बन्धित मुलुकमा समेत उच्च मान, शान र इज्जत छ । डा. शाक्य इजरायलका लागि नेपाली राजदूत हुन् भने शर्मिला ढकाल ओमानका लागि नेपाली राजदूत हुन् । यी दुई राजदूतले सम्बन्धित देशमा गएर नेपाल र नेपाली जनताको हित र अधिकारको बारेमा निर्वाह गरेको यथासक्य भूमिकाको सर्वत्र प्रशंसा गर्न थालिएको छ । विशेषगरी ती देशमा रहेका श्रमिक नेपालीहरूको पक्षमा फलदायी कार्य गर्दा दुवै राजदूतलाई स्यावासीको धाप मिल्ने सुअवसर प्राप्त भएको छ ।

गरे के हुन्न ? त्यसका लागि चाहिन्छ त केवल इच्छाशक्ति, सक्रियता र सकारात्मक धारणा । त्यसमाथि विशेष योग्यता पनि छ भने सुनमा सुगन्ध नै हुन्छ । यही प्रमाणित गरेकी छने राजदूत डा. शाक्यले । उनले गरेका पछिल्ला कामले उनको सुनाम भएको छ भन्न कन्जुस्याइँ गर्नु पर्दैन । आफ्नो सक्रयता र कामकै लागि उता शर्मिला पराजुलीले पनि आफ्नो नाम गर्विलो तुल्याउँदै गरकेो सम्बद्ध क्षेत्रका सबैले महसुस गरेका छन् ।

तर, जापानका लागि नेपाली राजदूत रहेकी बुज्रुक व्यक्तित्व प्रतिभा राणा पनि महिला नै हुन् । उनी राजदूत बनेर जापान पुगेको शाक्य र पराजुलीभन्दा धेरै अगाडि हो, तर उनको निस्क्रियता यतिसम्म खस्किन पुगेको छ कि । जापानमा बस्ने नेपालीहरूले पनि जापानमा हाम्रो राजदूत छ र ? भनी प्रश्न गर्न थालेका छन् । ‘अयोग्यता’ भन्ने शब्द प्रयोग गरिदिँदा कुटनीतिक कोणबाट साह्रै नै अशिष्टता प्रतीत हुन सक्छ, तर प्रतिभा राणाले प्रदर्शन गरेको ‘क्षमता’ले त यस्तै–यस्तै सोच्न विवश तुल्याउँछ ।

जापानमा प्रतिभाको ‘सक्रियता’ वा उपस्थिति भनेकै सरकारले तोकिदिएको कार्यकाल पूरा गर्ने बाहेक थप केही देखिएन । जापान जस्तो नेपालको पुरानो र अत्यन्त हितैषी मुलुकको राजदूत भएर पनि देशको हितमा सिन्कै भाँचेर देखाउन नसक्नु विडम्बना नै हो । जापानमा रहेका नेपालीहरूले आफ्नो राजदूतबाट गर्व गर्नलायकको काम प्रतिभा राणा त्यहाँ खटिएदेखि आजका दिनसम्म हेर्नै पाएनन् । राणाको अनुपातमा त थोरै समयभित्रै इजरायलका राजदूत डा. शाक्य र ओमानका पराजुलीले नेपाल र सम्बन्धित देशबीच बढाएको भाइचारा अनि फलदायी सम्बन्धका साथै त्यहाँ रहेका नेपालीहरूको पक्षमा उठाएका काम–कदमको मुग्ध कण्ठले प्रशंसा गरिएको छ ।

ओमानमा लामो समयदेखि फसेका नेपालीहरूलाई नेपाल फर्काउन राजदूत पराजुलीले गरेको कुटनीतिक पहल मात्र होइन, नेपाल र ओमानबीच बढाएको सकारात्मक सम्बन्ध उनको विशेष सवल पक्ष मानिन्छ । कोभिड–१९ मा अलपत्र परेका हजारौँ नेपालीको उद्दार गरेर पराजुलीले जुन कार्यक्षमता देखाइन्, त्यो कुरालाई श्रमिक नेपालीहरूले सायद जीवनभर बिर्सने छैनन् ।

ओमान सरकारले ओमानमा नेपाली श्रमिकहरूको कोटा बढाउने पक्षमा पराजुलीले राजदूतको ओहदाबाट खेलेको भूमिका उनलाई स्याबासी दिलाउने अर्को कार्य थियो । ओमानमा रहेका नेपालीहरूको आशा र भरोसा बनेकी राजदूत शर्मिला पराजुली ढकाल आफू नेपाल र नेपालीहरूका लागि हरदम दत्तचित्त भएर लागिपर्ने बताउँछिन् ।

यसैगरी, इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले निभाएको राजदूतको भूमिका र सक्रियताको उनको तारिफ यतिबेला उचाइमा पुगेको छ । पछिल्लो पटक नेपाल र इजरायलबीच भएको कृषि सम्झौता कोशे ढुंगा नैै मानिएको छ । यसलाई राजदूत शाक्यको पहल र निरन्तर सक्रियताको खास परिणाम मानिएको छ । इजरायलको श्रमबजार नेपालीहरूका लागि खुल्ला गर्न र नेपाली नर्सहरूका लागि इजरायल सहज तुल्याउनका लागि राजदूत शाक्यको पहलकदमीको वाहवाही सर्वत्र छ । नेपाली कुटनीतिक राहदानीवाहकलाई ९० दिन इजरायल घुम्न भिसा नचाहिने ऐतिहासिक निर्णय पनि शाक्यकै पहलमा भयो ।

यसरी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले मूलुक, जनतासँगै आफ्नो व्यक्तित्वको वजन बढाउँदै छन् भने उता यी राजदूतभन्दा निकै अघि नै त्यो पदमा आसीन भएकी बुज्रुक महिला जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रतिभा र क्षमता देख्न त परै रह्यो, उनी स्वयम् नै गुमनामतुल्य रहेबाट तमाम नेपालीजनमा आश्चर्य र दुःख एकसाथ पैदा भएको छ । यसरी दाँजेको अर्थ लाग्नेगरी टिप्पणी गर्नुपर्दा पङ्क्तिकारलाई पनि आफैंमा खेद भाव जागेको छ । अस्तु ।