इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ


रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिएका छन् ।

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको खुलेको छ ।

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन् । आलमको आदेशमा उनकै इँटाभट्टामा जिउँदै जलाएर मारिएको अभियोगमा फरार रहेका सहनी पक्राउ परेको प्रहरीको भनाइ छ ।

सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको भुङ्ग्रोमा हालेको स्वीकार गरेको बयान दिएका प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका राससले जनाएको छ ।

बम विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते र २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।