शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने अवस्था अझै नरहेको बताएका छन् ।
सिरहाको गोलबजारमा शनिबार जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्यूटको उद्घाटन गर्दै उनले सिरहाका कतिपय स्थानीय तहका विद्यालयहरुमा पठनपाठन भइरहेको सूचना आफूले पाएको हुँदा त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।
‘कोभिड-१९ को जोखिम अझै उच्च रहेकाले विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर होइन्, वैकल्पिक शिक्षण सिकाइ पद्धति अपनाएर शिक्षा दिनुपर्दछ’, उनले भने, ‘आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानिक शिक्षामा पहुँच छ, ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच पुऱ्याउने सरकारको लक्ष्य छ, सोहीअनुरुप अहिले गाउँ गाउँका सामुदायिक विद्यालयमा प्राविधिक धारका विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ ।’
मन्त्री पोखरेलले धेरैभन्दा धेरै विद्यार्थीले सीपमूलक शिक्षा पाउन भन्ने सोचका साथ आजसम्म देशका ६४५ पालिकामा प्राविधिक धारको शिक्षा पुऱ्याएको उल्लेख गर्दै प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि प्रयोगशाला र दक्ष शिक्षकको आवश्यकता रहेको बताए ।
प्रदेशसभा सदस्य जगत यादवले शिक्षामा सहज पहुँचको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
चालु शैक्षिक सत्रबाट किसान नेता जय गोविन्द साहको स्मृतिमा सञ्चालन भएको इन्स्टिच्यूटमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयर, तीन वर्षे बाली विज्ञान र डिप्लोमा इन जियोमेटिक्स इञ्जिनयीरको पढाइ शुरु गरिने जनाएको छ ।
प्रतिक्रिया