राजधानी सार्ने प्रस्तावविरुद्ध संसद भवन घेराउको तयारी

राजधानी सार्ने प्रस्तावविरुद्ध संसद भवन घेराउको तयारी


विशेष प्रतिनिधि, बुटवल

प्रदेश आन्दोलन गरिरहेका बुटवलका विभिन्न सामाजिक संघ–संस्थाहरुको संयुक्त सञ्जालले लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै सडक सुचारु रहने जनाएको छ ।

प्रदेशको नाम र तथा स्थायी राजधानीको प्रस्तावमाथि आजदेखि छलफल सुरु हुने भएपछि प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएको सञ्जालले संसद भवन घेराउको तयारी गरेको छ ।

प्रदेशको राजधानीलाई दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्तावका विरुद्ध आन्दोलन गरिरहेका बुटबलका विभिन्न संघ–संस्थाहरुको संयुक्त सञ्जालले आज बिहानै देखि संसद भवन घेराउका लागि तयारी थालेका छन् । सञ्जालले हिजो आह्वान गरेको लुम्बिनी बन्दको कार्यक्रमलाई परिमार्जन गर्दै संसदभवन घेराउमा केन्द्रित भएको सञ्जालका संयोजक खेमबहादुर हमालले बताए ।

‘साविक लुम्बिनी अञ्चलका सबै जिल्लाहरु बन्दको आह्वान गर्दै संसदभवन घेराउको कार्यक्रम तय गरिएको भए पनि सार्वजनिक सवारीका साधन चल्न नपाउँदा समर्थकहरु बुटवल आउन समस्या पर्ने भएपछि कार्यक्रम परिमार्जन गरिएको हो ।’ – संयोजक हमालले भने ‘अन्य व्यापार व्यवसाय बन्द रहे पनि सडक सुचारु गर्ने भनेका हौ ।’