प्रदेश ५ को संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय

प्रदेश ५ को संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय


सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

केहीबेरअघि संसद भवन परिसरमै बसेको कांग्रेस दलको बैठकले आजको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।

ज्ञातव्य छ, नेपाली कांग्रेस कपिलवस्तुले प्रदेश नम्बरको राजधानी कपिलवस्तु जिल्लामा बनाउनु पर्ने निर्णय यसअघि नै गरेको छ ।

नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिको तौलिहवास्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनु पर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले दाङ जिल्लाको भालुवाङ्ग क्षेत्रलाई राजधानी प्रस्ताव गरेको विषयमा नेपाली कांग्रेस कपिलवस्तुले असहमति जनाएको छ । प्रदेशका सबै १२ जिल्ला र जनतालाई पायक पर्ने स्थान कपिलवस्तु रहेको हुँदा प्रदेश सरकारले गरेको प्रस्ताव उपयुक्त नभएको कांग्रेस कपिलस्तुले जनाएको छ ।

प्रदेश ५ को सबैभन्दा ऐतिहासिक तथा पुरातात्विक दृष्टि र सबैको बीच भागमा पर्ने हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्नेमा कांग्रेसको धारण रहेको छ ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यले कपिलवस्तु सबै जिल्लाको बिचमा पर्ने स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकाले कपिलवस्तुलाई राजधानी बनाउँदा कुनै पनि जिल्लालाई असर नपर्ने कांग्रेस कपिलवस्तुले निर्णय गरेको गरेको बताए ।

‘बुद्धकालिन ऐतिहासिक महत्वको भूमि र सबैको बीच भागमा पर्ने जिल्ला कपिलवस्तु भएकाले प्रदेशको राजधानी यही हुनुपर्छ’ उनले भने । कांग्रेस कपिलवस्तुले आइतबारको बैठकमा खाली रहेका २ जिल्ला कार्य समिति सदस्य समेत थप्ने निर्णय गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।
बैठकले राजेश ज्ञवाली र पदम प्रसाद खनाललाई जिल्ला कार्य समिति सदस्यमा राख्ने निर्णय गरेको छ ।

यस्तै आमन्त्रित जिल्ला कार्य समितिमा रेश्मीराज अधिकारी र नारायण भुसाललाई बनाउने निर्णय समेत भएको छ ।

सकृय सदस्य नवीकरणको विवरण यही असोज २५ गतेसम्म जिल्ला कार्य समितिमा पठाउनु पर्ने निर्णय भएको अर्का सचिव प्रेमबहादुर रायमाझीले बताए ।

यस्तै एक महिनाभित्र निधन भएका कांग्रेस नेता तथा बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेश्वर सिंह, कांग्रेस नेताहरु भीमबहादुर सुनार, सोमनाथ पौडेल किशोर कहारको मृत्युप्रति शोक प्रस्ताव समेत पारित भएको छ ।