‘माओवादी’का दुवै मूख्यमन्त्री खोसिन सक्ने !

‘माओवादी’का दुवै मूख्यमन्त्री खोसिन सक्ने !


सातमध्ये दुई वटा प्रदेशमा मात्र मूख्यमन्त्री पाएको ‘माओवादी’ पक्षले अब त्यही दुई प्रदेशको मूख्यमन्त्री पनि गुमाउने स्थिति उत्पन्न भएको छ । कर्णाली प्रदेशको सभामा कुल सदस्यमध्ये एमालेको बीस, माओवादीको तेह्र, काङ्ग्रेसको ६ र राप्रपाको एक सदस्य रहेकोमा एमाले कित्ताका पन्ध्र र माओवादीका तीनसहित अठार जनाले दस्तखत गरी मूख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्ताव पारित हुने निश्चित गरेर मात्र सदस्यहरूले दर्ता गराएका थिए, तर सत्तारुढ नेकपाको केन्द्रीय तहका नेताहरूबाट सो प्रकरणमा हस्तक्षेपकारी भूमिका शुरु भएको छ । जसअनुसार अविश्वास प्रस्तावको पक्षमा रहेका कतिपय प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएका बताइएको छ ।

तथापि, ‘एमाले’ नेता यमलाल कँडेलले मूख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने स्थिति आएमा ‘माओवादी’ पक्षको सुदूरपश्चिम प्रदेशमा मात्र मूख्यमन्त्री रहनेछ । तर कर्णाली प्रदेशको स्थितिलाई लिएर नेकपाका केही नेता गम्भीर भएका छन् र, मूख्यमन्त्रीलाई सच्चिएर अघि बढ्ने मौका दिँदै तत्कालका लागि अविश्वासको प्रस्ताव फिर्ता गराउने प्रयासमा गत आइतबारदेखि नै लागिपर्दै आएका छन् । तर, अहिले प्रस्ताव फिर्ता भए पनि तनाव फिर्ता नहुने अवस्था छ ।

एक विश्वस्त सुत्रले जनाएअनुसार सुदूरपश्चिमका मूख्यमन्त्रीविरुद्ध पनि अविश्वासको प्रस्ताव प्रस्तुत गर्नेबारे नेकपाका सदस्यहरू बीच छलफल शुरु भएको छ । कुनै पनि दिन सुदूरपश्चिमका मूख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्ताव आएमा आश्चर्य मान्नुपर्ने हुँदैन । उक्त प्रदेशको सभामा माधवकुमार नेपालका समर्थकहरूको बलियो पकड भएकोले प्रचण्डले माधव नेपाललाई भनेर अविश्वासको सम्भावित प्रस्ताव रोकाउने अनुमान कतिपयको छ । यदि नेपालले त्यहाँ हस्तक्षेप गर्नुभएन भने सुदूरपश्चिम प्रदेशमा पनि अविश्वास प्रस्ताव दर्ता हुने र ‘माले’ कित्ताकै नेताले मूख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित छ । त्यसो भएमा देशका सातमध्ये ६ प्रदेशको मूख्यमन्त्री ‘एमाले’को हुनेछ ।

प्रदेश २ मा मात्र भिन्न अर्थात् मधेशकेन्द्रित समूहको सरकार रहने देखिएको छ । तर, माधवकुमार नेपालको विश्वास नलिइकन मूख्यमन्त्री परिवर्तनको प्रयास गरिँदा एक नं. प्रदेश र बागमतीका मूख्यमन्त्री केपीले गुमाउन सक्ने र ती स्थान माधव नेपालसमर्थकले पाउने सम्भावना छ ।

यसरी मूख्यमन्त्रीहरू समेत खोसिन थालेपछि प्रधानमन्त्री केपी र प्रचण्डबीच शुरु भएको तनाव अब उत्कर्षमा पुग्न सक्नेछ । यसपटक शुरु भएको विवादले पार्टीमा धु्रवीकरण तीव्र बनाउने र अन्त्यमा एकता भङ्ग हुने सङ्केतहरू देखिएका छन् ।