एसपी नै ‘माओवादी’ बनेपछि…

एसपी नै ‘माओवादी’ बनेपछि…



सर्लाही तनावग्रस्त


प्रहरी प्रमुखको अभद्र एवम् अशिष्ट ब्यवहारका कारण सर्लाही जिल्ला तनावग्रस्त बन्न पुगेको छ । जिल्ला एसपी सन्तोष सिंह राठौरले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलगायत जनप्रतिनिधिहरूलाई समेत जथाभावी अश्लील गाली गर्दै सबलाई हथ्कडी लगाएर थुन्ने धम्की दिएकोले परिस्थिति निकै चर्केको छ। भनिन्छ, कसैले राठौरलाई फोन गर्ने बित्तिकै उनले ‘हेलो’ भन्नुको सट्टा अश्लील शब्द प्रयोग गर्ने गर्दछन् ।

तनावको सुरुवात एक स्थानीय काङ्ग्रेस नेताको माओवादीहरूबाट हत्या भएपछि भएको हो । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर सातमा गत स्थानीय निर्वाचनमा सदस्यको उम्मेदवार रहेका महेन्द्र रामलाई ुमाओवादीुहरूले काङ्ग्रेस छोडेर माओवादीमा प्रवेश गर्न दबाब दिँदै आएका र महेन्द्रले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए । यसैक्रममा केही दिनअघि दुई पक्षबीच विवाद हुँदा माओवादी (हाल नेकपा बनेका)हरूले ढुङ्गैढुङ्गाले प्रहार गरी महेन्द्रलाई मरणासन्न बनाइदिएका थिए र, वीरगन्ज अस्पतालमा रामको निधन भएको थियो ।

उक्त घटनालाई लिएर दोषीहरूलाई कानूनी कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिन गएका स्थानीय वासिन्दाको उजुरी लिन जिल्ला प्रहरी कार्यालयले मानेन । प्रहरी प्रमुख सर्लाही सरुवा भएर जानुभन्दा अलिक अगाडी प्रचण्डको अङ्ग रक्षक भएर बसेका थिए । सर्लाहीमा राठौरको कार्य व्यवहार प्रहरीको जस्तो नभएर माओवादी गुरिल्लाको जस्तो भएको महसूस स्थानीय वासिन्दाहरूले गर्दै आएका थिए । प्रचण्डसँग सिधा सम्पर्क गरेर कुरा गर्ने आफ्नो हैसियत रहेको धाक रवाफ देखाउने राठौरले प्रचण्डकै निर्देशनमा माओवादी कार्यकर्ताविरुद्धको उजुरी नलिएको बताइन्छ ।

अहिलेसम्म प्रहरीले महेन्द्र रामको शव आफ्नै नियन्त्रणमा राखेको छ, न उजुरी लिएको छ न क्षतिपूर्तिका लागि तत्परता लिइएको छ । मलङ्गवामा न्यायको माग गर्दै दिनहु विरोध प्रदर्शन भैरहेका छन् । असोज २८ गते दशौँ हजार मानिस प्रहरी कार्यालयअगाडी धर्ना दिन पुगेकोमा जनतामाथि अन्धाधुन्ध लाठी र अश्रुग्यास चलाउँदा ५३ नागरिक घाइते भएका थिए । अधिकाङ्श घाइतेको अवस्था असामान्य रहेको बताइन्छ । प्रहरी प्रमुखको ब्यवहारको कारण सर्लाहीको अवस्था थप तनावमय हुने स्थिति बनेको छ ।

असोज ३० गते शुक्रबार सर्लाही क्षेत्र नम्बर चारका ५१ वटै वडामा प्रहरी प्रमुख राठौरको बर्खास्तगी, हत्यारालाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन गर्ने र साझ मशाल जुलुश आयोजना गरिएको छ । जबसम्म हत्यारालाई कारवाही, पीडितलाई क्षतिपूर्ति र प्रहरी प्रमुख राठौरलाई बर्खास्त गरिँदैन तबसम्म सङ्घर्ष जारी रहने काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभाका सदस्य डा. अमरेश कुमार सिंहले जानकारी दिनुभएको छ । उहाँले प्रचण्डको आडमा प्रहरी प्रमुखले गैर्‍हजिम्मेवार व्यवहार दर्शाएको र परिस्थितिलाई उत्तेजित बनाउन निजको मूख्य भूमिका रहेको बताउनुभएको छ।