दशैँभत्ता फिर्ता गर्न कांग्रेसका सबै सांसदलाई देउवाको निर्देशन

दशैँभत्ता फिर्ता गर्न कांग्रेसका सबै सांसदलाई देउवाको निर्देशन



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज (३ कात्तिक) बिहान निर्देशन दिएका हुन् ।

कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले निर्देशन दिएका र सोअनुसार आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी गराएका छन् ।

प्रमुख सचेतक खाणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको उल्लेख गर्दै यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार भएको आरोप लगाए ।

यस्तो अनुत्तरदायी निर्णय तत्काल फिर्ता लिन पनि नेता खाणले सरकारसँग माग गरेका छन् ।