पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै बनाइयो अस्थायी अस्पताल

पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै बनाइयो अस्थायी अस्पताल



कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय बिरामीलाई कोठा पुग्ने गरी पुनर्निमाण भइरहेको छ । ती कोठाहरुमा आवश्यकता परेका बिरामीलाई अक्सीजनसहितको थेरापीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

“देशका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढीरहेको हामीले देखेका छौँ, यो अत्यन्त छिटो छिटो वृद्धि भइरहेको छ, ती सबैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागेका हौँ,” प्रवक्ता मुलरले भनेका छन् ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्ने बारेमा अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ ।

अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

गत वसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोना भाइरसको महामारीको असर कम देखिएको थियो । तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुन सक्ने बताइएको छ ।

पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ । कुल परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको पनि अधिकारीहरुले जनाएका छन् ।