सुरेश धामी, बझाङ
कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिकाभित्रका विद्यालयहरुमा सोमबारदेखि पठनपाठन सञ्चालन गरिने भएको छ ।
कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण चैत्रदेखि देशभरका विद्यालयहरु बन्द रहेका छन् । बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुको शुक्रबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि पढाइ सञ्चालन गर्ने निर्यण गरेको छ ।
सरकारको पछिल्लो निर्णयसँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई सञ्चालन गरेका भए पनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चारमाध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यमबाट पढाई सञ्चालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृष्ण रेग्मीले बताए । शैक्षिकसत्र लम्बिन नदिन र शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाइ सामुदायिक तथा निजी विद्यालय पूर्णरुपमा सञ्चालन गरिन लागिएको उनको भनाइ छ ।
कोरोना महामारीकै बेला विद्यालय सञ्चालन गरिन लागेको भए पनि लामो समयपछि विद्यालयमा पढ्न पाइने भन्दै विद्यार्थी हरु खुशी भएका छन् । कोरोना नियन्त्रण भएपछि पढौँला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविष्य समेत बिग्रने भन्दै अब आफूहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोनासँगै बाँच्न सिक्नुपर्ने कक्षा १० मा अध्यनरत विद्यार्थी धनसरा बोहराले बताइन् ।
प्रतिक्रिया