नेकपाभित्र दन्किएको असन्तुष्टिको आगो ‘लेनदेन’ मिलाएर साम्य होला ?

नेकपाभित्र दन्किएको असन्तुष्टिको आगो ‘लेनदेन’ मिलाएर साम्य होला ?



दुई ‘पाइलट’बीच बेला-बेला पैदा हुने चरम टकरावको अवस्थाले सत्तारुढ नेकपारूपी ‘हवाइजहाज’ दुर्घटनाकै संघारमा पुगेको आभास दिलाउँछ । निकै लामो र चर्को विवादपछि कथित तवरले ‘सहमति’ जुटेको दाबीका बाबजुद सो दल फेरि विवादको भुमरीमा रुमलिँदै फुटको मोडमा पुगेको अनुभूति गरिएको छ ।

पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफारिस, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्थ गोयलसँग प्रधानमन्त्री ओलीको भेट, पर्सा घटनालगायतका विषयमा सत्तारुढ नेकपाभित्र समूहगत असन्तुष्टि ह्वात्तै बढेको छ । पार्टीका सह–अध्यक्षको भूमिकामा रहेका प्रचण्ड यतिबेला प्रधानमन्त्री एवम् पार्टीअध्यक्ष केपी शर्माृ ओलीविरुद्धको मोर्चाबन्दीमा दिलोज्यान दिएर लागिपरेका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाललगायत आफ्नो पक्षमा रहेका नेताहरूसँगको बैठकलाई उनले तीव्रता दिएका छन् ।

एघार दिनसम्म सम्वादविहीनताको अवस्थामा रही शनिबार मात्र प्रचण्डले बालुवाटार गई प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए । तर, शनिबारको ओली-दाहाल भेट कुनै सकारात्मक निर्णयविना टुङ्गिएको थियो । त्यसपछि नेकपा फुटकै सङ्घारमा पुगेको चर्चाले राजनीतिक बजार गर्माउन पुग्यो ।

यसैक्रममा पार्टी महासचिव विष्णु पौडेलको एक अभिव्यक्तिले सनसनी नै मच्चाइदियो । हम्मेसी कुनै अभिव्यक्ति नदिने, सामाजिक सञ्जालमा पनि कमै मात्र पोखिने महासचिव पौडेलले फेसबुक र ट्वीटरमार्फत् गम्भीर अभिव्यक्ति दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टी एकता सम्पन्न भएसँगै हाम्रोसामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको छ । नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

पौडेलजस्ता अल्पभाषी नेताबाट ‘यतिबेला पार्टी एकता गम्भीर सङ्कटको मोडमा आइपुगेको’ सार्वजनिक रूपमा स्वीकार गरिनु निश्चय पनि महत्वपूर्ण सन्दर्भ हो । नेकपाभित्र पन्पिएको चरम असमझदारी र गुटगत खेलको पराकाष्टाकै रूपमा यसलाई बुझ्नुपर्ने हुन्छ । नेकपासम्बद्ध एक नेताका अनुसार ओलीको तेजोबध गर्ने उपयुक्त अवसर अहिले भएको सोचका साथ प्रचण्डले सक्रियता बढाएका छन् । तुलनात्मक रूपमा केपी ओलीले लचकता देखाउँदा पनि हठ प्रदर्शन गरेर प्रचण्डले यस्तै सङ्केत दिएका छन् ।

यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीप्रति लक्षित रही एक स्टाटस सार्वजनिक गरेका छन् । उनले फेसबुकमा लेखेका छन्- ‘हाम्रो पार्टी एकता महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरूको चाहना र जनादेशविरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ । पार्टीको बैठक बसौँ र सबै पक्षहरूका बारेमा खुला छलफल गरौँ । पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनसम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भए पनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ, यतिबेला पार्टीएकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ- पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौँ र सकारात्मक निष्कर्ष निकालौँ । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौँ ।’

प्रवक्ता श्रेष्ठले प्रयोग गरेका ‘ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन, … जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौँ’ जस्ता वाक्यहरू प्रधानमन्त्री ओलीप्रति लक्षित रहेको स्पष्टै छ ।

यसरी सामाजिक सञ्जालमार्फत् नेकपाका नेताहरू आ–आफ्नो गुटको पक्षपोषण र विपक्षी खेमाको खोइरो उतार्न उद्यत् देखिएबाट पनि नेकपा अब एक भएर रहन नसक्ने दिशातर्फ तीव्रतम् गतिमा लम्किरहेको आँकलन गर्न सकिन्छ ।

तथापि, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले आइतबार दिउँसो गोदावरीमा दिएको अभिव्यक्तिले पनि राजनीतिमा चासो राख्नेहरूको ध्यान खिचेको छ । उनले बाहिर हल्ला चलेजस्तो पार्टी फुटको सङ्घारमा पुगेको कुराकोे खण्डन गरेका छन् ।

यस्तै, ओलीका निकट पात्र भनी चिनिएका युवा नेता गोकुल बास्कोटाले पनि कुनै अर्को एक सम्झौतामार्फत् समाधान निस्कने अभिव्यक्ति दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्- ‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितको सङ्कट उत्पन्न भएको भए पो सङ्कट मान्नु ! लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्काे सम्झौतापछि समाधान भैहाल्छ नि.., वेकारको हल्ला ।’

के नेकपाभित्र यतिबेला दन्किएको असहमतिको आगो बास्कोटाले भनेजस्तै फेरि पनि ‘लेनदेन’ मिलाएर साम्य होला त ? यसका लागि दुई-चार दिन प्रतीक्षा गर्नैपर्ने हुन्छ ।