कोरोना नियन्त्रणका लागि बेल्जियममा सेना परिचालन

कोरोना नियन्त्रणका लागि बेल्जियममा सेना परिचालन



संक्रमितहरूले अस्पताल भरिएपछि पहिलो पटक कोभिड बिरामी जर्मनी लगियो

■ सनत आचार्य, बेल्जियम

कोरोना भाइरसको महामारी शुरु भएयता बेल्जियममा मंगलबार पहिलो पटक ७ हजार भन्दा बढि बिरामी एकै पटक अस्पताल भर्ना भएका छन् ।

मंगलबारको दिन मात्र ७ हजार २ सय ३१ कोभिड बिरामी अस्पताल भर्ना भएका हुन् । यो संख्या अघिल्लो दिनको तुलनामा ४ सय ८ जनाले बढि हो ।

ती बिरामीमध्ये १ हजार ३ सय २ जनालाई आइसियुमा भर्ना गरिएको छ । यो पनि अघिल्लो दिनको तुलनामा ७९ जनाले बढि हो ।

त्यस्तै, ६ सय ९७ जनालाई भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरमा रहेको यो संख्या अघिल्लो दिनको तुलनामा २६ जनाले बढि हो ।

यसरी बेल्जियममा दिनानुदिन कोरोनासंक्रमितको संख्या वृद्धि भएपछि वालोनिया क्षेत्रअन्तर्गत पर्ने लेगमा कोभिड संक्रमणमा सहयोग पुऱ्याउने उदेश्यले सेना परिचालन गरिएको छ ।

लेगको अस्पतालले कोभिड रोकथामका लागि सेनालाई अनुरोध गरेपछि उक्त क्षेत्रको अस्पतालमा सेना परिचालन गरिएको हो ।

सेनाले कोभिड संक्रमित २५ जना बिरामीलाई विषेश रुपले रेखदेख गर्ने छ । सेना परिचालनको मुख्य उद्देश्य कोभिडका कारण घरमा बिरामी हुनेहरूको संख्यामा कम गर्नु र पुनः अस्पताल भर्ना हुनेको संख्यामा कमी ल्याउनु रहेको बताइएको छ ।

यसैबीच लेगबाट कोभिड-१९ को पहिलो बिरामीलाई हेलिकप्टरद्वारा आज जर्मनीको मुन्स्टर र बोन लगिएको छ । यसलाई ‘बेल्जियम र जर्मनबीचको सक्रिय सम्बन्ध र युरोपियन मुलुकबीचको ऐक्यबद्धताको आधार’ भनिएको छ ।

पछिल्लो समयमा कोभिड संक्रमितहरूको संख्या अप्रत्यासित रूपले बढ्दै जाँदा नोभेम्बर ३ देखि बेल्जियम पूर्ण रूपले लकडाउन गरिएको छ ।