अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको मानिएको छ ।
अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।
पछिल्लो मत परिणामअनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्दै विजयको नजिक पुगेका छन् ।
बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।
पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले तत्काल आफू विजयी भएको घोषणा गर्न भने नचाहेका एपीले जनाएको छ ।
उनले भनेका छन्, ‘म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।’
राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए, जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका छन् ।
विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ ।
निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका छन् ।
यस क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ ।
राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो ।
उजूरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ ।
एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् भने मतगणना कार्य जारी रहेको र दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।
ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका चुनावी उपव्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुनेछ भनेका छन् ।
राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका थिए । उनले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताएका छन् ।
प्रतिक्रिया