ट्रम्पका मुख्य सहयोगी मेडोज पनि कोरोनाबाट सङ्क्रमित

ट्रम्पका मुख्य सहयोगी मेडोज पनि कोरोनाबाट सङ्क्रमित



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको बताएका एपीले जनाएको छ ।

मेडोजसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवारसमेत ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भए पनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यतिबेला उनले मास्क समेत प्रयोग नगरेकाले उनबाट धेरै जना प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ ।

मेडोज मतगणना स्थलहरुमा पनि मास्कविना जाने गरेकाले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनलाई सबैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए । ज्ञातव्य छ, ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आएका छन् ।