अमेरिकामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन राष्ट्रपति निर्वाचित

अमेरिकामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन राष्ट्रपति निर्वाचित



उपराष्ट्रपतिमा दक्षिण एसियाली मूलकी कमला ह्यारिस


पूर्वराष्ट्रपति बाराक ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका ७७ वर्षीय जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित तुल्याउँदै बाइडेन राष्ट्रपति चुनिएका हुन् ।

अमेरिकाको इतिहासमै सन् १९०० यता सर्वाधिक लोकप्रिय मत सङ्ख्या हासिल गर्दै बाइडन राष्ट्रपति निर्वाचित भएका छन् । संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा उनले २८४ भोट हासिल गरेका छन् । ट्रम्पलाई भने २१४ मत मात्र प्राप्त भएको छ । दोस्रो कार्यकालको लागि पराजित हुने एघारौँ राष्ट्रपतिको रूपमा ट्रम्पको नाम दर्ज भएको छ ।

बाइडेनसँगै दक्षिण एसियाली मूलकी कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएकी छन् ।

बाइडेन र ह्यारिसले निर्वाचन जिते पनि आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।

निर्वाचन जितेपछि बाइडेनले आफ्नो ट्वीटरमा लेखेका छन्– ‘अमेरिका ! तिमीले मलाई यस महान् देशको नेतृत्वका लागि चुनेका छौ, मेरो लागि यो सम्मानको कुरा हो ।’

उनले अगाडि लेखेका छन्– ‘हाम्रा लागि अगाडिका काम चुनौतीपूर्ण छन्, तर म अमेरिकी जनतासँग बाचा गरिरहेको छु कि मलाई मत दिनुभएको होस् या नदिनुभएको, म हरेक अमेरिकीको राष्ट्रपति हुनेछु । तपाईंहरूले ममाथि जुन भरोसा गर्नुभएको छ, यसमा म खरो उत्रिने छु ।’