अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति, जो हिन्दू सनातनप्रति लगाव राख्दछिन्

अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति, जो हिन्दू सनातनप्रति लगाव राख्दछिन्



संयुक्तराज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् भने उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस देशकै पहिलो महिला उपराष्ट्रपति पदमा विजय बनेकी छन् ।

भारतीय मूलकी श्यामला गोपालन र जमाइकाली मूलका डोनाल्ड ह्यारिसकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमला ह्यारिसको जन्म भएको हो । बिहे गरेको केही वर्षमै कमलाका बाबु र आमाको सम्बन्ध विच्छेद भएको थियो, जतिबेला कमला पाँच वर्षकी थिइन् ।

पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन् । ५५ वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताए पनि गत डिसेम्बरमा उनी राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् ।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन् । आमा भारतमा र पिता जमैकामा जन्मेकाले उनलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।

हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी कमलाले सधैँ आफूलाई आफूलाई ‘एक अमेरिकी’ भन्ने गर्दथिन् । भारतीय-जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद थिइन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएको चर्चा व्यापक भएको थियो ।

पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेकी पात्र हुन् । उनले केही समयअघि मात्र अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग राखेकी थिइन् । सो क्रममा पनि उनी चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलनताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान गरेकी थिइन्। कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला थिइन् ।

श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले आमाकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउँदै आएकी थिइन् ।

दक्षिण एसियाली मूलकी र हिन्दू सनातनप्रति लगाव राख्ने पात्रको रुपमा पनि यतिबेला कमलाको चर्चा र ख्याति चुलिएको छ ।