विवाहका लागि पाकिस्तानमा नयाँ निर्देशिका जारी

विवाहका लागि पाकिस्तानमा नयाँ निर्देशिका जारी



‘वैवाहिक कार्यक्रम राति १० बजेभन्दा अगाडि दुई घण्टामा सम्पन्न गर्नुपर्ने’

पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशिकाअनुसार वैवाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा ६ फिट दूरी कायम गर्नुपर्ने, वैवाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राती १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।

सबै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने वैवाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।

वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ ।

आयोजकहरुले सबै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

ज्ञात रहोस्, पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९७७ जनाको मृत्यु भएको छ । ती मध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ ।