‘फाइजरले विकास गरेको कोभिड-१९ विरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी’

‘फाइजरले विकास गरेको कोभिड-१९ विरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी’



ट्रम्पले ट्वीट गर्दै भने- खोप ‘खुशीको खबर’


औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्त रूपमा विकास गरेको कोभिड-१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।

कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका सङ्क्रमितमा औषधिको प्ररीक्षण गरिएको र यसको ९४ प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुशीको खबर’ भन्दै स्वागत गरेका छन् ।

‘खोप छिट्टै आउँदैछ, यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ,’ खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि ट्रम्पले गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।

ट्रम्प प्रशासनले कोभिड-१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् । ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।

अमेरिकामा अहिले पनि कोरोनाभाइरस सङ्क्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै सङ्केत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ ।