■ मनिषा कार्की
कस्तो महामारी मानव जीवनमा देखा पऱ्यो ! न कसैलाई छुन सकिन्छ, न साथी-सँगीसँग निर्धक्क भेटघाट गर्न सकिन्छ, न बाहिर खुलेआम घुमघाम गर्न नै सकिन्छ ? हो, यतिबेला संसारका आमनागरिकले महसूस गरिरहेका छन् कि मान्छेको स्वतन्त्रता के रहेछ भनेर । एक हिसाबले मान्छेलाई कोरोनाले आफ्नो कैदखानामा बन्धक बनाएको छ ।
कोरोना भाइरस विश्वमा प्रवेश गरेको एक वर्ष पुग्न लाग्दासमेत भाइरसले मान्छेमा आक्रमण गर्ने रफ्तार छोडेन । अझ भनौँ कम हुनुको साटो झन् तीव्र रूपमा बढिरहेको छ ।
कसले कल्पना गरेको थियो र २०१९ नोभेम्बरमा चीनमा देखापरेको कोरोना भाइरस विश्वभर फैलिएर मानव जगतमा यति ठुलो असर गर्छ भनेर । यतिबेला विश्व नै कोभिड-१९ बाट ग्रसित छ भने कोरोनाले सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षमा दूरगामी असर पार्नुका साथै राजनीतिक क्षेत्रमा पनि प्रभाव पारेको छ । कोरोना भाइरसको भ्याक्सिन तथा औषधि प्रामाणिक तवरमा हालसम्म पत्ता लागेको छैन भने विकसित देशका वैज्ञानिकहरूबीच कसले छिटो भ्याक्सिन पत्ता लगाउने भन्ने होड चलिरहेको छ ।
कोरोनाले विश्व अर्थतन्त्रलगायतका अन्य क्षेत्रमा गम्भीर चुनौती दिइरहेको छ जसबाट नेपाल पनि अछुतो रहन सकेन । कोभिड-१९ नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी घोषणा पनि गऱ्यो तर उचित सामना गर्न सकेन बरु भ्रष्टाचार, अत्याचार, बलात्कार, हत्या हिंसा जस्ता अनैतिक कार्यलाई प्रोत्साहन मिल्यो ।
यसअघि पनि यस्ता धेरै महामारीबाट मानिस गुज्रिन बाध्य भयो जसबाट मानव जीवन नै संकटमा समेत पुगेको विश्वको इतिहास साक्षी नै छ । विकसित देशहरू समेत महामारीको चपेटामा परेको बेला नेपालजस्तो विकासोन्मुख देश जहाँ महामारीसँग लड्ने न कुनै भरपुर पूर्वतयारी थियो न कुनै सुरक्षाका लागि आवश्यक तयारी नै ! अझ दुःखको कुरा क्वारेन्टिनमा नै नेपाली चेली बलात्कार भएको खबरसमेत बाहिरियो ।
नेपालको सन्दर्भमा कोरोना महामारीबाट सन् २०२० को भ्रमण वर्ष स्थगित हुन पुग्यो जसले गर्दा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २.५ प्रतिशत ओगटेको पर्यटन व्यवसाय थप संकटग्रस्त बन्दै गयो । रेमिट्यान्समा चलेको देश विप्रेषण कमी हुँदा गरिबी बढ्दै गयो । रोजगारीको अवस्था लगभग ठप्प जस्तै भयो, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा झन् चुनौती थपिँदै गए, रोगले भन्दा भोकले मर्ने स्थिति सृजना भयो, देशका बैंकिङ तथा वित्तीय क्षेत्र थलिँदै गए भने कृषिले बजार नपाउँदा घाटा व्यहोर्नुपऱ्यो त उपभोक्ता मारमा परे । महामारीमा पनि किसान मलको अभावमा घण्टौ लाइन बस्नु पऱ्यो । लाइन बसे तर न मल पाए न धान सप्रियो ।
सरकारले कोरोना बिरामीको उपचारसम्म आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गऱ्यो जुन पछिल्लो समय निकै विवादमा परेपछि सरकार आफ्नो निर्णय सच्याउने ठाउँमा आइपुगेको छ ।
त्यति मात्र होइन बन्दाबन्दीका बेला एक ठाउँबाट अर्को ठाउँमा जान पासका लागि पावर लगाउनुपर्ने अवस्थासमेत आइपऱ्यो । भाडा दिन नसक्दा घरबेटीले निकालेको र ज्यानसमेत लिएको, बन्दकै अवधिमा हत्या हिंसा, बलात्कार, जातीय विभेद, लागुऔषध ओसारपसारमा वृद्धि, भत्ता नपाएका स्वास्थ्यकर्मीको आन्दोलन, एमसिसी खारेजीको माग गर्दै आन्दोलन, दलित हक–अधिकारसम्बन्धी आन्दोलन, शव व्यवस्थापन बारेको आन्दोलन, पत्रकार आन्दोलन, विद्यालय सञ्चालकको आन्दोलनजस्ता समाचार सुन्दा सबै उदास र निरास बन्नुपरेको छ । सरकारले कोरोना बिरामीको उपचारसम्म आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गऱ्यो जुन पछिल्लो समय निकै विवादमा परेपछि सरकार आफ्नो निर्णय सच्याउने ठाउँमा आइपुगेको छ ।
कोरोना महामारीसँगै मुलुकमा जताततै भ्रष्टाचार भित्रीयो मुलुकमा विभिन्न ठाउँमा आन्दोलन प्रदर्शन पनि भयो । प्याजमा भ्रष्टाचार, बिरामी उपचारका लागि खरिद गरिएको पीसीआर मेसिनमा भ्रष्टाचार, स्थानिय तहको सेवा सुविधामा भ्रष्टाचार, रासायनिक मलमा भ्रष्टाचार र सम्झौताअनुरुप आपूर्तिको काम नगर्ने आदि यी केही उदाहरण मात्र हुन् । झण्डै दुई तिहाईको बलियो सरकार आफ्नो पार्टीभित्रको आन्तरिक किचलोको चक्रमा रुमलिरहदा यस्ता क्षेत्रमा ध्यान जान सकेन । महामारीको चुनौतीसँगै नेपाल प्राकृतिक विपत्तिको सामना गर्न बाध्य भयो । मौसमअनुसारको प्राकृतिक विपत्ति बाढीपहिरो जस्ता अन्य विपदमा परी एकै परिवारका ६ जनाको मृत्यु भयो, सयौंले ज्यान गुमाए भने हजारौँ घरबारविहीन भए त धेरै अझै पनि बेपत्तै छन् ।
नेपालमा दिनहुँजसो ६ देखि ७ जना महिला बलात्कृत भइरहेका छन् तर सरकारलाई कुनै वास्ता छैन । यससम्बन्धी सरकारले न कडा नीतिनियम बनायो न भएका नियम-कानुनलाई कार्यन्वयनमै ल्यायो । जनाताले जिताएका सत्तामा बस्ने ‘साँढे’हरूलाई कत्ति पनि चेत आएन नेपाली चेली कति बेचिएका छन् र कति सुरक्षित छन् ! घरमै त सुरक्षित नहुने चेली अन्यन्त्र कहाँ सुरक्षित होलान् र ? भाग्यमानी महिला उनी हुन्छिन् जो बेचिँदाबेचिँदै बचेकी छिन् । २ वर्ष बितिसक्दा पनि न्याय नपाएकी निर्मला र त्यसपश्चात बलत्कृत भई मारिएकी सम्झना बिकलगायतको आत्माले नेपालको वर्तमान शासन व्यवस्थालाई सधैं सताइरहनेछ !
मुलुकको गृहमन्त्री जस्तो महत्वपूर्ण पदको जिम्मेवारी वहन गरेका रामबहादुर थापा जसले भने- बलात्कारसम्बन्धी घटना नयाँ र नौलो होइन, यस किसिमका घटना र प्रकरणहरू यसअघि पनि थिए, आज पनि छ र पछि पनि रहनेछ । यसलाई हामी पूर्ण रुपमा निषेध गर्न सक्दैनौंँ ।’ उनको यस अभिव्यक्तिले के सार दिन्छ ? तिमी बलात्कार गर्दै जाउ हामी आन्दोलन हेर्दै जान्छौँ त भनेको होला नि ! जिम्मेवार तथा उच्चपदस्थ नेताले यस्तो भाषण छाँट्दा आम नागरिकले के बुझे होलान् ?
नेपाल सरकारले यस्ता समस्या समाधानका पर्याप्त उपाय अपनाउन सकेन । विदेशबाट १ लाख २२ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । बेरोजगारहरूलाई देशमै रोजगारको अवस्था कसरी सृजना गर्ने भन्ने सरकारसँग कुनै दुरदर्शी योजना छैन ।
महामारीमा त जनताले सरकारबाट ठूलो आशा र अपेक्षा राखेका हुन्छन्, सरकारले व्यवहारबाटै अभिभावकीय भूमिका पूरा गरेको महसुस गर्न चाहन्छन्, तर सरकार भने तरह-तरहका विकृत प्रतीत हुने निर्णयहरू गरेर जनताको अपेक्षामाथि जहर घोलिरहेको छ ।
विदेशबाट फर्किएका युवा र देशमै भएका युवाको ज्ञान, सीप, क्षमता र दक्षता विभिन्न क्षेत्रमा सदुपयोग गर्ने मौका सरकारलाई नभएको होइन, तर त्यसतर्फ ध्यान दिन सकेन, दिए पनि क्षमता प्रदर्शन गर्न सकेन । युवालाई रोजगारको नाममा करोडौँ बजेट बाटोको झार पन्छाउने कार्यमा समाप्त गरियो । यस्ता काम त समुदायले आफै पनि गर्न सक्थे, र त्यसरी फजुल खर्च गरिएको बजेट कुनै उत्पादनमूलक कार्यमा लगाउन सकिन्थ्यो । कार्यकर्ता पोस्नकै लागि यस्ता बकम्फुसे योजनामा बजेट सिध्यायो सरकारले । यस्तो महामारीमा त जनताले सरकारबाट ठूलो आशा र अपेक्षा राखेका हुन्छन्, सरकारले व्यवहारबाटै अभिभावकीय भूमिका पूरा गरेको महसुस गर्न चाहन्छन्, तर सरकार भने तरह-तरहका विकृत प्रतीत हुने निर्णयहरू गरेर जनताको अपेक्षामाथि जहर घोलिरहेको छ । योभन्दा विडम्बना अरु के होला र ?
अझै पनि मौका छ कि सरकारले कोरोनाबाट थलिएका बैंकिङ तथा वित्तीय क्षेत्र, यातायात व्यवसाय, पर्यटन व्यवसायलगायतका अन्य क्षेत्रमा आर्थिक राहत प्याकेजको व्यवस्था गर्नुपर्छ, व्यवसायी र सरकारबीच आपसी समझदारी सम्झौता गरेर तहसनहस भएका पक्ष पुनः पहिलेकै अवस्थामा ल्याउन र चलायमान बनाउन सहयोग पुग्नेछ । कोरोना कहर सकिने समय कसैले पनि एकीन गर्न नसकिरहेको परिवेशमा कोरोनाबाट संक्रमित हुनबाट बच्दै दैनिक जीवनयापन गर्न सरकारले सुझबुझपूर्ण, फलदायी र महत्वपूर्ण कदम चाल्न जरुरी रहेको छ ।
प्रतिक्रिया