राष्ट्र असफलताको सवालमा प्रहरी प्रशासनको प्रभाव

राष्ट्र असफलताको सवालमा प्रहरी प्रशासनको प्रभाव



■ दिनेश नेपाल

संसार समुन्नत हुन यसभित्रका विभिन्न देश समान रूपमा विकसित र उन्नतिशील हुनु नितान्त आवश्यक छ । यसको लागि विभिन्न समयमा विभिन्न प्रकारका प्रयास र प्रयोग भएका देखिन्छन् । उदाहरणका लागि ‘वन भिलेज’ सोच र विश्वव्यापीकरण अवधारणालाई लिन सकिन्छ ।

यथार्थमा यी प्रयास र प्रयोग सफल हुन भने सकेन । यसको मूल कारण विभिन्न राष्ट्रमा विद्यमान असमान राजनीतिक, आर्थिक, भौतिक र अनुशासित स्थिति नै हो । यसको परिणाम विभिन्न राष्ट्र विभिन्न स्वरूपमा विभाजन भएका देखिन्छन् । उन्नतिको लागि मानव संसाधन र भौतिक पूर्वाधारको विकास समानान्तर रूपमा हुनु पर्दछ । तथापि, विश्व मूलतः अति विकसित, विकसित, विकासशील र अविकसित गरी चार स्वरूपमा विभाजन भएको देखिन्छ ।

१. अति विकसित, जहाँ मानव संसाधन- १०० र भौतिक पूर्वाधार- १०० रहेको हुन्छ । यसमा संयुक्त राज्य अमेरिका र जापान पर्दछन् ।
२. विकसित, जहाँ मानव संसाधन- ९०/८० र भौतिक पूर्वाधार- ८०/९० रहेको हुन्छ । यसअन्तर्गत चीन एवम् यूरोपेली मूलुकहरू पर्दछन् ।
३. विकासशील, जहाँ मानव संसाधन- ५०/६० र भौतिक पूर्वाधार- ६०/५० रहेको हुन्छ । यसमा भारत, इजिप्ट जस्ता मुलुक पर्दछन् ।
४. अविकसित, जसमा मानव संसाधन- ३०/२०, भौतिक पूर्वाधार- २०/३० रहेको हुन्छ । यस कोटीमा नेपाल, सुडान जस्ता मुलुक रहेका छन् ।

निःसन्देह भौतिक पूर्वाधारलाई सधैं मानव संसाधनले सञ्चालन गर्ने हुँदा उन्नतिको लागि मानव संसाधन योग्य र इमान्दार हुनु नितान्त जरुरी छ । मानव संसाधन योग्य नभएको राष्ट्रमा भौतिक पूर्वाधार कमजोर हुन्छ भने इमान्दार नभएको राष्ट्रहरूमा भ्रष्टाचारले जरो गाडेको हुन्छ । दुवै नकारात्मक भए अवयवहरूको स्थिति पनि नकारात्मक नै हुन्छ र दुवै सकारात्मक भए नतिजा पनि सकारात्मक नै हुन्छ ।


नेपालको सन्दर्भमा दुवै अवयवहरू कमजोर स्थितिमा रहेको देखिन्छ । यसर्थ, समयान्तरमा नेपाल क्रमशः उकालोबाट ओरालोतिर लागेको देखिन्छ । यसको प्रष्टिकरणमा मुद्रा अवमुल्यन र अनुशासनहीन मानव संसाधनलाई लिन सकिन्छ । राष्ट्रमा अनुशासन कायम राख्न स्थापित भएका संगठन नै क्रमिक रूपमा नकारात्मक प्रभावमा जकडिएका देखिन्छन् । उदाहरणार्थ प्रहरी प्रशासन र अन्य सुरक्षा निकायको स्थितिलाई लिन सकिन्छ ।

यसबारे अनुसन्धानको क्रममा प्रहरी प्रशासनभित्र ‘चेन अफ कमाण्ड’ त सबैले भन्ने तर पालना नगर्ने परिपाटीको विकास क्रमशः भएको देखिन्छ । उपल्लो तहबाट भद्र हुन निर्देशन गरिने तर मातहतका कर्मचारीले अभद्र व्यवहार गर्ने परिपाटीको विकास पनि क्रमिक रूपमा भएको देखिन्छ । व्यवहारिक तवरमा पुष्टि भएको उदाहरणार्थ थापाथली ट्राफिक प्रहरी प्रभागको हालका इन्स्पेक्टरको व्यवहारलाई लिन सकिन्छ ।

यस्तै, प्रहरी प्रशासनका कर्मचारीहरूको अभिलेख राख्ने ढाँचा र ढङ्ग सङ्गठनात्मक नभएको देखिन्छ । यसको उदाहरणस्वरूप कालीमाटी वृत र महिला सेलको गतिविधिलाई लिन सकिन्छ । यी निकायको कार्यान्वयन पक्ष पनि फितलो र अकर्मण्यतायुक्त रहेको पाइयो ।

चेन अफ कमाण्डको परिपाटी दिनदिनै तोडिँदै गएको भनाइ प्रहरी प्रशासनका व्यवस्थापन पक्षले व्यक्त गरेका छन् । तर, आफ्ना मातहतमा रहेका कर्मचारीलाई जोगाउने कोशिस गरेको भेटिन्छ ।

प्रहरी–पब्लिक पार्टनरसीपको उचित व्यवस्थापन नगर्दा प्रहरी–पब्लिकमा भ्रष्टाचार वृद्धि भएको देखिन्छ । यसको कारणले नै प्रहरी-नेतृत्व बेला-बेलामा अप्ठ्यारो स्थितिमा परेको देखिन्छ ।

एकै किसिमका सूचना पनि कहीँ दिने कहीँ नदिने क्रियाकलापलाई प्रहरी प्रशासनको कस्तो नीति बनेर बुझ्ने ? उदाहरणका लागि प्रहरी प्रधान कार्यालय, ललितपुर परिसर र यसअन्तर्गतका निकाय, काठमाडौं परिसर, जनसेवा वृत्तले मागेको सूचना दिने तर कालीमाटी वृत्त र महिला सेलले दिन नमिल्ने भन्दै रोक्ने गरेको पाइयो । एकै निकायमा पनि एकै खाले सूचना–सामग्री दिन मिल्ने र नमिल्ने भन्ने हुन्छ र ? यसमा चेन अफ कमाण्ड उल्लङ्घन भएको या सङ्गठनभित्र अनुशासनहीनता र मनपरी प्रवृत्ति मौलाएको भन्नैपर्छ ।

वास्तवमा प्रहरी प्रशासनको गतिविधिले कुनै पनि राष्ट्रका नागरिक कति अनुशासित छन् भन्ने इङ्गित गर्दछ ।

नागरिकमा प्रहरीप्रति नकारात्मक प्रभाव पर्नाको कारणहरू अनुसन्धानको क्रममा निम्न भेटिए–

१. जवानदेखि नायव निरीक्षकसम्ममा साङ्गठनिक व्यवहारको कमी ।
२. निरीक्षक र डीएसपीको स्थिति पेण्डुलम जस्तो ।
३. एसपी, एसएसपी, डीआईजी, एआईजी र आईजीपीको व्यवहार राम्रो तर चेन अफ कमाण्ड र साङ्गठनिक व्यवहारलाई चुस्त-दुरुस्त राख्न नसक्दा सङ्गठनका कर्मचारी छाडा हुँदै जानु ।
४. राजनीतिक प्रभाव वा हस्तक्षेप ।

सायद यही कारणले होला ‘सपोर्टिङ स्टाफ’ले व्यवस्थापन र नेतृत्वको आदेश नमान्ने परिपाटीको विकास भएको । यसबाट वर्तमान सरकारको नेतृत्व गर्ने क्षमता र मार्गनिर्देशनको पहिचान प्रष्ट हुन्छ ।

यसरी, कुनै पनि राष्ट्रमा अनुशासन कायम राख्न स्थापित भएका निकायहरू नै अनुशासनहीन र अस्तव्यस्तताको स्थितिमा छन् भने त्यो राष्ट्र कता लम्किरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । नेपालको दशा र दिशा यस्तै छ । समयमै ठीक दिशा पहिल्याउन नसकेमा राष्ट्र थप अराजकतातर्फ लम्किएर चरम अस्थिरता र असफलताको बिन्दुमा नपुग्ला भन्न सकिन्न ।