कारागारको सुरक्षा थप कडा, थुनुवा भागेको मामलामा छानबिन समिति गठन

कारागारको सुरक्षा थप कडा, थुनुवा भागेको मामलामा छानबिन समिति गठन



कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा बनाएको हो ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । उनी बिहीबार साँझ ५ः३० वजे कारागारको पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका-२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थुनुवा भाग्नुअघि नै कोरोना कहरका कारण कैदी बन्दीलाई भेटघाटमा रोक लगाइएको थियो । श्रेष्ठ भागेपछि कारागारको सुरक्षामा खटिएका प्रहरीहरुलाई चनाखो हुन निर्देशन दिइएको छ ।

आफ्नो जिम्मेवारीमा रहँदा जतिसुकै आवश्यक काम भए पनि अर्को व्यक्तिले जिम्मेवारी नसम्हालेसम्म काम नछोड्न कडा निर्देशन दिइएको काफ्लेले जानकारी दिए । बिहीबार सुरक्षाकर्मी परिवर्तन हुने समयमा भागेका बताइएको छ । कारागारमा नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था लागू गरिएको छ ।

क्षमताभन्दा तेब्बर कैदी बन्दी रहेको यस कार्यालयमा केही बन्दीको चापका कारण समस्या आइरहने गरेको छ । यस कारागारमा हाल दुई आश्रित बालबालिकासहित ७०२ जना कैदी बन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा ५६ जना र २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६४४ जना रहेका छन् ।

यसै क्रममा कारागार कार्यालय चितवनबाट थुनुवा भागेको विषयलाई लिएर स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले घटनाको वास्ताविकता बुझी प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने बताइएको छ ।