नेता शङ्करको गर्जन- ‘काङ्ग्रेस बीपीको मार्गमा फर्कनै पर्छ’

नेता शङ्करको गर्जन- ‘काङ्ग्रेस बीपीको मार्गमा फर्कनै पर्छ’


नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री शङ्कर भण्डारीले काङ्ग्रेसलाई बीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले अवलम्बन गर्नु भएको वैचारिक मार्गमा ल्याउन ढिलाइ गर्न नहुने विचार व्यक्त गर्नुभएको छ । भण्डारीको भनाई छ- ‘काङ्ग्रेसले मध्येमार्गी बाटो छोडेपछि देशको राजनीति खल्बलिएको हो । बीपीको विचारबाट काङ्ग्रेस पलायन नभएको भए देशमा यो तहको सङ्कट पैदा हुने थिएन ।’

उहाँले पार्टीको नेतृत्व मात्र बदलेर समाधान खोज्न सकिँदैन, नीतिगत सुधारबाट मात्र समाधान सम्भव रहेको धारणा राख्दै काङ्ग्रेसलाई एकताबद्ध बनाउनु आजको अपरिहार्यता हो भन्ने स्पष्ट गर्नुभयो । नेता भण्डारीले ब्यक्तिगत महत्वाकाङ्क्षाबाट माथि उठेर काम नथाल्ने हो भने नेपाली राष्ट्रियता र सार्वभौमिकता थप सङ्कटमा पर्ने उल्लेख गर्दै काङ्ग्रेसको नेतृत्व ढिला नगरिकन वैचारिक शुद्धिकरण र राष्ट्रिय एकताका पक्षमा जुट्नुपर्ने सुझाव पेस गर्नुभयो ।

मुलुकलाई सनातन बौद्ध किराँत राष्ट्रको सम्वैधानिक पहिचान दिनुपर्ने र राजसंस्थालाई समेत स्थान दिइनुपर्ने कुरामा भण्डारीले जोड दिनुभएको छ । उहाँले नेपाललाई समलिङ्गी विवाहको केन्द्र बनाइन खोजेको प्रति गम्भीर आपत्ति जनाउँदै देशको सनातनी परम्परालाई ध्वस्त बनाउन अनेक षड्यन्त्र हुँदै आएको पनि बताउनुभयो । २०७१ सालमा स्थापित नेपाली काङ्ग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको संयोजकका हैसियतमा बोल्दै श्रावण ८ गते शुक्रबार भण्डारीले उपरोक्त विचार ब्यक्त गर्नु भएको हो ।

काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा काङ्ग्रेसका नेताहरू लक्ष्मणप्रसाद घिमिरे, दीपकुमार उपाध्याय, दीपकप्रकाश बास्कोटा, रामचन्द्र अधिकारी र लोकेश ढकाल लगायतको सहभागिता थियो । नेता ढकालले पत्रकार सम्मेलनको शुभारम्भ गर्दै भन्नुभएको थियो, ‘हामी देशको विद्यमान सङ्कट मोचनका निम्ति प्रतिबद्ध छौं, त्यसनिम्ति काङ्ग्रेसमा वैचारिक परिमार्जन र आन्तरिक एकता पहिलो शर्त हुन् ।’

स्मरणीय छ, काङ्ग्रेस पार्टीभित्र राष्ट्रवादी शक्तिको बलियो उपस्थिति छ र पछिल्लो महासमिति बैठकमा बार्‍ह सयभन्दा बढी सदस्यहरूले पार्टीलाई सनातन राष्ट्रको सम्वैधानिक पहिचान दिनुपर्ने माग तत्कालीन सभापति शेरबहादुर देउवासमक्ष प्रस्तुत गरेका थिए ।