चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आइतबार

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आइतबार



भारतका विदेशमन्त्री दुईदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएलगत्तै उत्तर छिमेकी चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपाल भ्रमणमा आउँदै छन् । एक दिवसीय कार्यशील भ्रमणका क्रममा आइतबार (१४ मंसिर) रक्षामन्त्री वेइ काठमाडौं आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेइले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ रक्षामन्त्रीले दक्षिण एशियाको भ्रमणको शुरुवात गरेका र भ्रमणको शुरुवात नै नेपालबाट गर्न लागेका बताइएको छ । आइतबार साँझ नै नेपालबाट उनी नेपालबाट बंगलादेश र त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किने कार्यक्रम रहेको बुझिएको छ ।

चिनियाँ रक्षामन्त्री वेइको नेपाल भ्रमणलाई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वार्षिकोत्सव मनाउने सिलसिलामा हुन लागेको भनिए पनि पछिल्लोपटक भारतबाट उच्च कूटनीतिक एवं उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट उच्च तहको भ्रमण हुनुलाई विशेष रुपमा हेरिएको छ ।