पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दाबी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको जिकिर गरे । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका ६ दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका बताइएको छ ।
‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईंको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप¥यो’, बाँस्कोटाले भने । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास-क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याउँदै भने- ‘चन्द कमरेड ! तपाईंका नेता कार्यकर्तालाई तपाईंको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाईं पनि नेकपामा समाहित भए राम्रो हुन्छ ।’
बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । ‘बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ, जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।’ नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।
नेता बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको उल्लेख गर्दै नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गरे । ‘नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ’ भन्दै उनले नेकपालाई ठूलो घरको संज्ञा दिए । ठूलो घरमा बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको उनको तर्क थियो ।
बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थिए ।
प्रतिबन्धित नेकपाका केन्द्रीयसहित ७५ नेता-कार्यकर्ता नेकपामा प्रवेश
सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा-माओवादीका काभ्रेपलाञ्चोकस्थित केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले शनिबार धुलिखेलमा आयोजित एक कार्यक्रमका बीच फूलमालाले स्वागत गरे ।
नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् ।
नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताए । उनले भने, ‘बम र सिलिण्डर विस्फोटन गरेर क्रान्ति हुन्न, पार्टीभित्र मुक्तिका लागि लड्ने कोही देखिएनन् त्यसैले पार्टी त्यागेका हौँ ।’
तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जना मात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् । उनीहरुमध्ये केहीलाई नेकपामा पुनः प्रवेश गराउने प्रयास भइरहेको तामाङले जानकारी दिए ।

तस्बिर : रासस
प्रतिक्रिया