कुख्यात ‘जर्ज सोरस’बाट ‘इन्धन’ लिने को हुन् ?

कुख्यात ‘जर्ज सोरस’बाट ‘इन्धन’ लिने को हुन् ?



विश्वमै रहस्यमयी पात्रका रूपमा चिनिएका जर्ज सोरसबाट लाभ लिएर देशको एकता र मौलिक धर्म-संस्कृतिविरुद्ध नेपालमा क्रियाशील व्यक्तिहरूको पहिचान जनस्तरबाट गर्नुपर्ने देखिएको छ । हङ्गेरीमा जन्मिएर अमेरिकी नागरिक बनेका जर्ज सोरस पश्चिमा स्वार्थ पूरा गर्नका निम्ति विभिन्न मुलुकमा लगानी गर्ने रहस्यमयी व्यक्तिका रूपमा चिनिन्छन् । ‘दी ओपन सोसाइटी फाउण्डेसन’को नाममा भारतमा भारतीय एकता र राष्ट्रियताविरुद्धका गतिविधिमा लगानी हुने गरेको प्रमाण फेला परेपछि अहिले जर्ज सोरस र उनको आवरण संस्था ओपन सोसाइटी फाउण्डेसन व्यापक विवाद र चर्चामा आएको छ ।

हिन्दु र बौद्धबीच द्वन्द्व बढाउने र मुसलमान पृथकतावादीहरूलाई समेत लगानी गर्ने गरेको प्रमाण भेटिएपछि निज सोरस र उनको संस्था आलोचना र निन्दाको केन्दबिन्दु बन्न पुगेको हो । दी ओपन सोसाइटी फाउण्डेसन त्यहाँ ज्यादा सक्रिय हुने गरेको पाइन्छ जहाँ देशको शान्ति, स्थिरता र आन्तरिक एकता भङ्ग गरिदिनु पर्ने हुन्छ । नेपालमा पनि उक्त संस्थाले कार्यालय नै स्थापना गरेर केही वर्षयता रहस्यमयी कार्यमा लगानी गर्दै आएको छ । कुनै समय गिरिजाप्रसाद कोइरालाको पिए रहेका हरि शर्मालगायतले जर्ज सोरसको लगानीमा अनेकौँ कार्य गर्दै आएको बुझिएको छ ।

भारतको कास्मीरदेखि केरलसम्म अस्थिरता, अशान्ति र विखण्डनका निम्ति लगानी गर्ने सोरसले नेपालमा सन् २००७ देखि २०१७ (२०६३ देखि २०७३) सम्म ३०.७ मिलियन डलर अर्थात् तीन अर्बभन्दा बढी नेपाली रूपैयाँ लगानी गरेको ओपन सोसाइटी फाउण्डेसनको वेभसाइटमा अङ्कित गरिएको छ । उक्त रकममध्ये प्रजातान्त्रिक अभ्यास शीर्षकमा २९ प्रतिशत, कानूनी शासन र कानूनी सुधार शीर्षकमा २९ प्रतिशत, समानता र कर्मचारी प्रशासनमा २७ प्रतिशत तथा पत्रकार (स्तम्भकार समेत) हरूका नाममा १५ प्रतिशत रकम लगानी (खर्च) भएको वेभसाइटमा देखाइएको छ । अधिकारकर्मी, वकिल, ‘एक्टिभिस्ट’, ‘ओपिनियन मेकर’ लगायतमार्फत उक्त रकम खर्च भएको दाबी वेभसाइटमा गरिएको छ ।

जर्ज सोरसको लगानीमा नेपालमा सक्रिय भएका राजनीतिजीवी, अधिकारकर्मी, पत्रकार तथा वकिलहरूको पहिचान गर्ने हो भने नेपालको बर्बादीमा नेपाली आवरणमै सक्रिय रहनेहरूको पर्दा खुल्ने विश्वास गरिएको छ ।