विशेष प्रतिनिधि, साप्पोरो (जापान)
जापानको उत्तरी प्रिफेक्चर होक्काइदोको कितामी शहरमा तीन जना नेपाली चढेको कार दुर्घटनामा परेको छ ।
कार दुर्घटनामा परि एक नेपालीको निधन भएको छ । निधन हुनेमा कारमा सवार २७ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।
गम्भिर घाइते भएका तामाङलाई अस्पताल लगिए पनि उपचारको क्रममा निधन भएको हो ।
दुर्घटना कितामी शहरको राष्ट्रिय राजमार्गको ३९ रुट फुजिमा रुबेसिबे चो कितामी सि क्षेत्रमा भएको हो । कारमा दुई जना नेपाली महिला र निधन भएका तामाङ रहेका थिए । दुर्घटनामा परि कारमा सवार अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटना डिसेम्बर ३ तारिख दिउँसो ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।
निधन भएका तामाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए ।
प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए, जहाँ उनीहरूको घर रहेको बताइएको छ ।
दुर्घटनाको समयमा सो क्षेत्रमा सडकमा हिउँ रहेको थियो । हिउँमा चिप्लिएरै कार दुर्घटनामा परेको आशंका गरिएको छ । प्रहरीले कार कसरी चिप्लिएर दुर्घटनामा पर्न गयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतक तामाङसहित दुर्घटनामा घाइते भएका नेपालीहरुको विस्तृत परिचय तथा नेपालस्थित ठेगाना लगायत खुल्न बाँकी छ ।
प्रतिक्रिया