■ प्रेमबहादुर सिंह

राष्ट्रिय पञ्चायतको अध्यक्ष, कानून तथा न्याय मन्त्री, पटक–पटक गृहमन्त्री, नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य लगायत अनेकौँ महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ राजनीतिज्ञ एवम् जेष्टनागरिक नैनबहादुर स्वाँरको २०७७ साल मंसिर १८ गते ९४ वर्षको उमेरमा (जन्म : वि.सं. १९८४/०८/०९) दुःखद निधन भयो ।
९४ वर्षसम्म जीवित रहेर इतिहासको विभिन्न कालखण्डमा अनेकौँ महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु एउटा ऐतिहासिक परिघटना हो । कुनै पनि ब्यक्तिको मूल्यांकन समयसापेक्ष रूपमा हुने या गरिने कुरा आफ्नो ठाउँमा छँदैछ तर यति लामो इतिहास बोकेको ब्यक्तिको मृत्युमा एकाध अनलाइनबाहेक सम्पूर्ण मिडियाले दर्शाएको उदासिनता अत्यन्त उदेकलाग्दो छ। यो सत्तासिनताको पछि मात्र दौडिने प्रवृत्तिको ज्वलन्त नमुना हो भन्न करै लाग्छ।
मिडिया लोकतन्त्रको पहरेदार हो । यसैले लोकतान्त्रिक शासन प्रणालीमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्राप्त हुन्छ र यसलाई राज्यको चौथो अंग मानिन्छ । तथ्यमा आधारित, तटस्थता र निष्पक्षता प्रेसको विश्वसनियताको मूल आधार मानिन्छ । सत्ताधारीको गुण गाउनु, सत्ता र शक्तिको पछि मात्र दौडिनु र अरू सबै पक्षलाई बेवास्ता गर्नु मिडियाको धर्म होइन । विगतमा पनि देखापरेका यस्ता नकारात्क प्रवृत्तिका विरूद्ध प्रेस जगतले सम्झौताहीन संघर्ष गरेको गौरवपूर्ण इतिहास साक्षी छ । के नेपाली मिडियाले आफ्नो गौरवपूर्ण इतिहास बिर्सनु वान्छनीय हुन्छ ?
अर्को रोचक तर उदेकलाग्दो पक्ष । नैनबहादुर स्वाँर गिरिजाप्रसाद कोइराला सभापति हुँदा केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्थ्यो । पक्षधरताको कुरा गर्ने हो नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस पक्षधर मिडियाले पनि आफ्नो पूर्वकेन्द्रीय आमन्त्रित सदस्यलाई सम्झेको देखिएन । यो पनि बलेकै आगो ताप्ने प्रवृत्ति होइन र ? नेपाली कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यको के नै हैसियत रहेछ भन्ने प्रश्न उठ्दैन र ?
प्रतिक्रिया