पूर्वमन्त्री बाँस्कोटा भन्छन्- नेताले महाधिवेशन कुर्नुपर्छ !
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा शुक्रबार सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न उनले आग्रह गरेका हुन् ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने तर्क गरे ।
‘पार्टीभित्र व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन् बल्झाउँछ, तथ्यगत रूपमा बहस–विमर्श हुनु जरुरी छ’, उनको कथन थियो । नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबी पनि नेकपा नेता बाँस्कोटाले गरे ।
नेकपा फुट्न सक्दैन र फुट्न पनि दिइने छैन भन्दै बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने धारणा राखे ।
‘जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, ६-६ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना गरेका छन्, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो’- पूर्वमन्त्री बाँस्कोटाले बताए ।

तस्बिर रासस
प्रतिक्रिया