टर्किस एयरलाइन्सको फ्लाइटमा बेथिति

टर्किस एयरलाइन्सको फ्लाइटमा बेथिति



लगेजबाट लाखौँको सामान गायब हुँदा दोष यात्रुमाथि नै थोपरिन्छ

सनत आचार्य

टर्कीको स्तानबुलबाट नेपाल उडान गर्ने टर्किस एयरको चरम लापर्वाहीका कारण यात्रुको लगेजमा रहेको बहुमूल्य सामान हराउने क्रम पछिल्लो चरणमा बढ्दो छ ।

गत मंगलबार (डिसेम्बर १) बिहान १० बजेर ४१ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको टर्किस एयरको टी के ७२६ फ्लाइटबाट काठमाडौं आएका चार यात्रुमध्ये दुई जनाको सुटकेसमा लागाइएको ताल्चा काटिएको र थप दुई जनाको झोलाको चेन च्यातिएको अवस्थामा भेटियो भने एक महिलाको नयाँ मोबाइल फोन चोरी भएको थियो ।

ताल्चा काटिएकामध्ये एक महिला संयुक्त राज्य अमेरिकाको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्तानबुल हुँदै काठमाडौं आउने क्रममा थिइन् । अमेरिकाबाट प्रस्थान गर्नुपूर्व ती महिलाले एउटा कालो झोला लगेज र अर्को सानो सुटकेस ह्याण्डक्यारीको रूपमा तयार पारेकी थिइन् । जब उनी विमानस्थलमा आइन्, उनलाई एयरलाइन्सका कर्मचारीले लगेज र ह्याण्डक्यारी दुवैलार्ई लगेजकै रूपमा मात्र लैजान पाउने बताए । एयरलाइन्सको नियमअनुसार ती महिलाले आफ्नो दुवै सामान लगेजको रूपमा हालिन् र, हातमा कुनै झोला नबोकी काठमाडौंका लागि प्रस्थान गरिन् । काठमाडौं अवतरण गर्नुपूर्व उनको स्तानबुलमा ४ घण्टा ट्रान्जिट थियो । चार घण्टा स्तानबुल ट्रन्जिटमा बिताएपछि रातको १ बजेर ३५ मिनेटमा काठमाडौंको लागि उडेको विमान बिहान करिव ११ बजे काठमाडौंमा अवतरण भयो ।

उनी अध्यागमन हुँदै रेडजोन (भन्सार) समेत पार गरी सामान लिनका लागि २ नम्बर बेल्टमा पुगिन् । ती महिलाले सामान लिनका लागि लामो समय बेल्टमा कुर्नुपर्‍यो ।

यसै क्रममा उनले केही यात्रुको झोला खोलिएको अवस्थामा देखिन् । आफ्नो सामानमा पनि कतै बदमासी गरिएको त छैन भन्ने आशङ्का उनमा पैदा भयो । नभन्दै जब उनको ह्याण्डक्यारीका रूपमा तैयार गरेको सुटकेस आफ्नो अगाडि आयो, त्यो फोडिएको अवस्थामा देखिन् । उनी अत्तालिँदै उक्त सुटकेस खोलेर मोबाइल खोज्न थालिन् । तर, उनले सुटकेसमा राखेको आइफोन-१० चोरी भइसकेको थियो भने काटिएको ताल्चा सुटकेसभित्रै राखिएको थियो ।

पहिलो झोला हेर्दाहेर्दै उनको अर्को ठूलो कालो झोला आयो । उनको त्यो झोलाको पनि ताल्चा फोडिएको थियो । त्यसलगत्तै उनले कालो झोला खोलिन् । झोलाभित्र पट्याएर राखेका कपडाहरू छरपष्ट अवस्थामा थिए । तर त्योभित्र रहेको निलो रंगको कम्प्यूटर भने यथावत नै थियो । कम्प्यूटर देखेलगत्तै उनले भनिन्- ‘पासवर्ड थियो, सायद त्यसैले यो बच्यो !’

त्यत्तिकैमा उनले हातमा मोबाइल बोकेका एक यात्रुसँग प्रहरीलाई फोन गरिदिन अनुरोध गरिन् । ती यात्रुले प्रहरीको कन्ट्रोलमा फोन गरे । केही बेरमा एक जना प्रहरी हवल्दार आए । त्यसपछि उनी नेपाल बायुसेवा निगमको ल्याण्ड कन्ट्रोलतर्फ लागिन् र उनले आफ्नो सामान हराएको जानकारी गराइन् ।

तर, त्यसरी हराएको समान आजका मितिसम्म उनले पाउन सकेकी छैनन् । उनीसँगै आएका अन्यले भने सुटकेस फोडिएको र झोलाको चेन खोलिएको बारेमा सम्बन्धित निकायलाई जानकारी नै गराएनन् ।

ताल्चा फोडेर यात्रुको सामान हराएको सम्बन्धमा राखिएको जिज्ञासाको जवाफमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले त्रिभुवन विमानस्थलको सुरक्षा पहिलेको भन्दा अहिले निकै कडा पारिएको, यात्रुको सामान फोडिने र हराउने स्थानहरूमा सिसिटिभि क्यामेरा जडान गरिएको र यसको निगरानी प्रहरीले गर्ने गरेको बताए । ठुला जहाजहरूको सामान कन्टेनरमा राखेर आउने भएकोले नेपालको विमानस्थलमा सामान हराउने वा चोरी हुने सम्भावना नरहेको उनको तर्क थियो ।

उक्त सम्बन्धमा टर्किस एयरलाइन्सका सेल्स तथा ट्राफिक कन्ट्रोलर सुनिल थापाले ‘घडी, मोबाइल, सुनका गरगहना लगायतका बहुमूल्य सामान ह्याण्डक्यारीमा नहाल्न एअरलाइन्सको वेवसाइडमा सूचना जारी गरेको र सोको पालना यात्रु वर्गले नगरेको’ आरोप लगाए । उनी भन्छन्, ‘हामीले यस्तो सूचना जारी गर्दागर्दै पनि ह्याण्ड क्यारीमा बहुमुल्य सामान हाल्नु गलत हो ।’

थापाका अनुसार कोभिडका कारण हाल सबै सामान लगेजकै रूपमा ल्याउनुपर्ने व्यवस्था एअरलाइन्सद्वारा गरिएको छ । ३० किलोको ठूलो ब्याग र ८ किलोको ह्याण्ड क्यारीबाहेक यात्रुले काजगपत्रलगायत बहुमूल्य सामानका लागि ४ किलोसम्मको बेग्लै सानो झोला आफूसँग लैजान सक्ने बताउँदै उनले सामान फोडिनुमा एयरलाईन्सको दोष नरहेको दाबी गरे ।

प्रहरीको भनाइ र उनीहरूले गरेको अध्ययन-अनुसन्धानलाई आधार मान्ने हो भने यात्रुको सामान स्तानबुलमै हराउने गरेको देखिन्छ ।

स्तानबुलको युरोपतर्फ रहेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल आउनका लागि केन्द्रबिन्दु मानिन्छ । यहाँ टर्किस एयरलाईन्सबाट अमेरिका, युरोप र बेलायत लगायतका देशहरूबाट नेपाल आउने यात्रुहरूको संख्या बाक्लै हुन्छ । तर, यसरी यात्रुका झोला तथा सुटकेस संसारको व्यस्त विमानस्थलबाट हराउनु आफैमा विडम्बना हो । यो गैरजिम्मेवारीको पराकाष्टा हो ।


सामान हराउने विषयमा सम्बन्धित एयरलाइन्सले बेलैमा सोधेर आवश्यक प्रबन्ध नमिलाए उप्रतिको यात्रुको विश्वास गुम्ने निश्चित छ । यसका लागि टर्किस एअरलाइन्स गम्भीर एवम् जिम्मेवार हुन आवश्यक छ ।