ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई पाँच वर्ष कैद फैसला

ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई पाँच वर्ष कैद फैसला


दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा दुई वर्षअघि भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद र सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले सोमबार काठमाडौं जिल्ला अदालतले विगतमा गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो ।

दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो ।