विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । मंगलबार सार्वजनिक गरिएअनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको जानकारी दिइएको छ ।
नापी विभागमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकसाथ मंगलबार सार्वजनिक गरेका हुन् ।

बताइएअनुसार विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो।
नेपाल र चीनका संयुक्त टोलीले सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको पत्ता लगाएका र त्यसलाई आधिकारिक रुपमा आज सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया