राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौमा

राप्रपा नेता लिङ्देन अस्वस्थ, उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौमा



राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि झापाबाट काठमाडौं पठाइएको छ ।

सो पार्टीका झापा जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि नेता लिङ्देनलाई बिहीबार बेलुकी ७ः३० बजे काठमाडौं पठाइएको ओझाले बताए ।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौंको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ । आजै उहाँको पिसिआर परीक्षण गरिएको र कोभिड-१९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए ।

सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल ऱ्यालीको नेतृत्व गरेका थिए ।