भारत-नेपाल संयुक्त सञ्चालक समितिको उर्जा सहकार्य विषयक बैठक सम्पन्न

भारत-नेपाल संयुक्त सञ्चालक समितिको उर्जा सहकार्य विषयक बैठक सम्पन्न


भारत र नेपालका उर्जा सचिवहरूको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त सञ्चालक समितिको आठौँ बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

बैठकमा भारत सरकारका उर्जासचिव संजीव नन्दन सहायका साथमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय एवम् भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेडलगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीको सहभागिता थियो । त्यस्तै, विभिन्न मन्त्रालय एवम् विभागका अधिकारीहरू सम्मिलित नेपाली टोलीको नेतृत्व नेपालका उर्जासचिव दिनेशकुमार घिमिरेले गर्नुभएको थियो । यस बैठकको तयारीस्वरुप बिहीबार नै सह-सचिवस्तरीय भारत-नेपाल संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो ।

भारत-नेपाल संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो । बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको सम्बद्ध पक्षको भनाइ छ ।

बताइएअनुसार दुवै पक्षबीच अन्य विषयलगायत नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकीङको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रूपमा अघि बढाउने सहमति भएको छ ।

यस क्षेत्रको विकासका लागि नेपाल र भारत दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन् । फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको बताइन्छ ।

यसक्रममा दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ भने ४०० केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तिय मोडालिटिबारे पनि सहमति भइसकेको छ र, अब चाँडै यस परियोजनाको निर्माण सुरु हुने जनाइएको छ । त्यस्तै, ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्य रुपमा अघि बढेको छ । दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिनेछन् ।

दुवै पक्षले दुई देशबीच उर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने लगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य उर्जा परियोजनामा लगानीलगायतका प्रतिबद्धता दाहोऱ्याए । आजको बैठकमा भएको विस्तृत एवम् सकारात्मक छलफलले भारत र नेपाल बीचको उर्जा सहकार्यलाई विस्तार गर्न थप सघाउ पुऱ्याउने अपेक्षा गरिएको छ ।