लामा परिवारको आर्थिक प्रकरणमा यसरी तानिएका रहेछन् नारायणकाजी

लामा परिवारको आर्थिक प्रकरणमा यसरी तानिएका रहेछन् नारायणकाजी



श्रीमती लामाले खोलिन् रहश्य

कोरोना संक्रमणका कारण बिहीबार निधन भएका नेकपाका नेता एवम् दक्षिण कोरियाका लागि पूर्व राजदूत कमानसिंह लामाले मृत्युअघि फेसबुकमा लेखेको स्ट्याटसका कारण सामाजिक सञ्जाल तात्नुका साथै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठबारे अनेक अफवाह चलेपछि दिवंगत लामाकी पत्नी इन्द्रमाया तामाङले मुख खोलेकी छन् ।

आफ्ना श्रीमानको दुःखद निधन भई शोकको अवस्थामा रहेको बेला स्वर्गीय श्रीमान् लामा र आफूबीच व्यवसायिक विषयमा भएका केही विवाद र असमझदारीका विगतका विषयमा आफ्नो पार्टी नेकपाका प्रवक्ता एवम् आदरणीय नेता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रूपमा मुछेर मिडियामा झुठो प्रचार गरिएको भन्दै इन्द्रमायाले दुःख प्रकट गरेकी छन् ।

उनले आफ्नो परिवार नै टाट पल्टिने र रहे-भएको इज्जत-प्रतिष्ठा नै गुम्ने अवस्थामा पुगेपछि कम्पनी बजाएर गुम्न लागेको इज्जत पनि जोगाइदिन स्वर्गीय लामा र आफूले समेत सुसन कर्माचार्यसँग हारगुहार गरेको र पार्टीका नेता र अभिभावकसमेत भएको नाताले नारायणकाजीले समस्या समाधानका लागि सुझाव दिनुका साथै मार्गदर्शन गराइदिएको उल्लेख गरेकी छन् ।

यस्तो छ इन्द्रमाया तामाङद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ-

मेरो श्रीमान् एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नता, पूर्वसांसद कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा रहेका छौँ । यही बेला म र कमरेड लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरूमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रूपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु । घटनाबारे सत्य तथ्य म प्रस्तुत गर्दछु ।

विगत २२-२३ वर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरविरोध र वैमनष्यता कहिल्यै भएन । घर-व्यवहार र राजनीतिक जीवनमा दुवै जनाले आ-आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एकअर्काको साथ-सहयोग रहेकै थियो । हामी दुवै जनाको सधैं व्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रहयो । उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो । र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहेँ ।

यसै क्रममा सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका-१ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रालि हामी दुवै जनाको नाममा सञ्चालन गर्ने गरी नेपाल सरकारबाट अनुमति प्राप्त गऱ्यौँ । यो हाइड्रो सञ्चालनका लागि विगत १० वर्षदेखि हाम्रो चल-अचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न गऱ्यौँ । तर न हामी हाइड्रो संचालन गर्न सफल भयौँ न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौँ । त्यही बेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया चालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएका नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईंहरू पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक-पटक अनुरोध गऱ्यौँ । सोहीबमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहने गरी सबै आर्थिक र कानुनी प्रक्रिया पुऱ्याएर हस्तान्तरण गयौँ ।

तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य व्यक्तिको सेयर पनि थियो । हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्यलगायतका साथीहरूको कम्पनीले हामो उद्धार नै गऱ्यो ।

सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौँ । त्यस क्रममा उहाँले हामीलाई आर्थिक पारदर्शिता र अनुशासनको बारेमा सम्झाउनुभएकै हो । तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्न निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरू लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु । उहाँ हाम्रो यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो न आज संलग्न हुनुहुन्छ ।

जहाँसम्म हामी दई जना श्रीमान-श्रीमतीबीचको असमझदारीको कुरा छ, त्यसको एकमात्र कारण श्रीमान कमानसिंह लामाको भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुनु नै हो । जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक-पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाइ तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो । बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन । तर, पनि मबाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । मलाई जति दुःख र पीडा अरु कसलाई हुन सक्छ ? मेरो श्रीमान जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरूले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलबाडको विषय बनाइरहेको देख्दा दुःख लागेको छ । यो दुःखद अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । – इन्द्रमाया तामाङ

यसैगरी याम्बालिङ हाइड्रोपावर प्रा.लि.ले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदुत कमान सिंह लामाको मत्युपश्चात केही सामाजिक सञ्जाल एवं सञ्चारमाध्यमहरूमा आएका समाचार, टीका-टिप्पणीप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- २०७४ फागुन २४ मा कमानसिंह लामा र उहाँको पत्नी इन्द्रमाया तामाङले सञ्चालन गर्नु भएको याम्बालिङ्ग हाइड्रोपावरमा गम्भीर आर्थिक संकटमा परेको तथा कम्पनी संचालन गर्न नसकी उहाँहरू पनि आर्थिक संकटमा परेकाले समस्या समाधानको लागि पटक-पटकको अनुरोधपछि आपसी सहमतिमा कम्पनीको आर्थिक संकट समाधान गर्न साविकका संचालक र हामीबीच आर्थिक, कानुनी र व्यवहारिक सबै प्रकिया पूरा गरी यस कम्पनीको टेकओभर गरिएको थियो । यस स्थितिमा यस कम्पनीसँग संलग्न नभएका पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक, कपोलकल्पीत एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्य पूर्ण हो ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता जस्तो व्यक्तिले आफूनिकट व्यक्ति स्व. कमानसिंह लामाले उठाएको विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयासस्वरुप भए-गरेको छलफललाई अन्यथा भन्न मिल्दैन । यस विषयमा सत्यतथ्य जानकारी लिन स्वर्गीय कमानसिंह लामाकी पत्नी तथा हाल कम्पनीकी संचालक इन्द्रमाया तामाङसँग सम्पर्क गर्न सकिने वा यस कम्पनीको कार्यालयबाट जानकारी लिन सकिने छ । उक्त दुरासययुक्त सम्प्रेषणप्रति जो-कोही पनि भ्रममा नपर्नुहुन यो विज्ञप्ती जारी गरिएको छ । – कार्यकारी अध्यक्ष