स्पेनको आलिकान्तेस्थित नेपाली समाजमा फुट, शुभेच्छुकहरु चिन्तित

स्पेनको आलिकान्तेस्थित नेपाली समाजमा फुट, शुभेच्छुकहरु चिन्तित



स्पेनको आलिकान्तेस्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद वढेको छ । सन् २००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ संस्था दर्ता गरेपछि उनीहरुबीच विवाद बढेको हो ।

यसअघिको नेपाल स्पेन समाज कोस्टाब्लाङकालाई परिवर्तन गरी नेपाल समाज एसोसियसनको नाममा नयाँ कमिटी गठन भएपछि विवाद बढेको हो । समाजको एकपक्षले नयाँ संस्था बनाएर अघि बढेपछि उक्त संस्थाका केहि संस्थापकहरुले पनि गत मंगलबार नयाँ कमिटी गठन गरेका छन् । समाज फुटेर दुईवटा कमिटी गठन भएपछि अहिले सामाजिक सञ्जालमा दुई पक्षबीच आरोप-प्रत्यारोप चलिरहेको छ ।

सोमबार (७ डिसेम्बर) अक्कलबहादुर बोहोराको अध्यक्षतामा एसोसियन गठन भएपछि असन्तुष्टहरुको भेलाले मंगलबार केशवराज कँडेलको अध्यक्षतामा अर्को कमिटी गठन गरेको हो ।

बोहोरा नेतृत्वको कमिटीमा उपाध्यक्षमा विनोद शेरचन, रीता आचार्य, देवराज सापकोटा र लक्ष्मण पाण्डे रहेको छन् भने महासचिवमा नवराज दुवाडी, सचिव अनुपसिंह भण्डारी, कोषाध्यक्षमा दुर्गा भण्डारी, युवा संयोजकमा बाबुराम गौतम र महिला संयोजकमा स्मृति गौतम रहेका छन् । यस्तै सदस्यहरुमा द्वारिका लामिछाने, ईश्वर गौतम, भरतराज न्यौपाने, रुद्र खत्री, महदत्त कँडेल र मन्जना पाण्डे रहेका छन् ।

यस्तै कँडेलको नेत्तृवमा मंगलबार गठन भएको अर्का कमिटीको वरिष्ठ उपाध्यक्षमा निराजन लुईंटेल, उपाध्यक्षहरुमा विनोदकुमार चौलागाईं, कमल कँडेल, झरना कार्की रहेका छन् भने महासचिवमा बालकुमार बुढा, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, युवा संयोजकमा प्रविन सुवेदी रहेका छन् । यस्तै, सदस्यहरुमा शैलेन्द्र थापा, शैलेस बज्राचार्य, शोभा पराजुली, श्यामराज कँडेल, सुरेन्द्र रानामगर, विशाल रानामगर, नयन थापा, सरोज केसी, रविन गुरुङ र राजकुमार क्षेत्री रहेका छन् । सल्लाहाकारहरुमा वीरेन्द्र श्रेष्ठ, सुरेन्द्र भुजेल, रितेश श्रेष्ठ, सुरेश बज्राचार्य, विरबहादुर खत्री, केशर थापा, सुनप्रसाद गुरुङ चयन भएका छन् ।

दुवै पक्षले आफुहरु आधिकारिक समाज भएको दाबी गरेका छन् । अध्यक्ष कँडेलले एकपक्षले इतिहास बोकेको पुरानो संस्थालाई समाप्त पारेर नयाँ संस्था बनाएको र यसविषयमा आफुहरुसँग छलफल र सहमती नै नगरिएकोले आफुहरुले नयाँ संस्था बनाएको नभइ पुरानै संस्थालाई पुनर्गठन गरेको बताए ।

उता बोहोरा पक्षधरहरुले भने संस्थालाई कानुनी रुपमा वैधता प्रदान गर्ने क्रममा संस्थाको नाम फेर्नु परेकोले नयाँ नाम राखिएको बताएका छन् । अध्यक्ष बोहोराले कानुनी जटिलता आएकोले नाम फेरेको दाबी गरे । उनी यसअघि पनि समाजको अध्यक्ष नै थिए । समाजका पूर्वअध्यक्ष रितेस श्रेष्ठले संस्थाको नाम फेर्ने जस्तो गम्भिर विषयमा आफुहरुसँग छलफल नै नगरी एकलौटी ढंगले कम्पनी दर्ता गरे जसरी अर्को पक्ष अगाडि बढेकोले आफुहरुले गठन गरेको संस्था जोगाउन नयाँ कमिटी गठन गरिएको तर्क गरे । उनी कँडेल नेतृत्वको समाजमा सल्लाहकार रहेका छन् ।

एनआरएन आइसिसीका संस्थापक सदस्य वीरेन्द्र श्रेष्ठले एकपक्षले अर्को पक्षको कुरा नसुन्ने अवस्था आएकोले समाज फुटको स्थितिमा पुगेको बताए । आफुहरुले मिलाएर लैजाने प्रयास गरे पनि समाजमा छलफल नगरिकन ब्यक्तिगत निर्णयका आधारमा चल्ने प्रवृत्ति बढ्दै गएकोले समस्या थपिएको उनको जिकिर छ ।

उक्त समाजले यसअघि विभिन्न सांस्कृतिक क्रियाकलाप गर्नुका साथै एकअर्कामा पर्ने दुःखपीडा र नेपालमा पर्ने आपतविपतहरुमा सहयोग संकलन गर्ने काम गर्दै आएको थियो । स्पेनको आलिकान्तेमा पर्ने कोष्टाबलाङका क्षेत्रमा एकिन तथ्याङ नभए पनि करिव एक हजार नेपाली रहेका छन् । यसक्षेत्रमा धेरै नेपालीका रेष्टुरेन्ट र पसलहरु छन् । यसअघि एउटै संस्थामा मिलेर आपसी सहयोग आदानप्रदान गर्दै अगाडि बढेका यसक्षेत्रका नेपालीहरुमा संस्थाको विषयलाई लिएर विवाद बढेपछि धेरैलाई चिन्तत बनाएको छ ।