पश्चिम सेती निर्माणका लागि ‘बोलन्या थली’को बेग्लै आन्दोलन

पश्चिम सेती निर्माणका लागि ‘बोलन्या थली’को बेग्लै आन्दोलन



■ डम्बर निदाल, डडेल्धुरा

करिव तीन दशकदेखि थाती रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘बोलन्या थली’ले सङ्घर्ष गर्दै आइरहेको छ । सोही अभियानअन्तर्गत थलीले पश्चिम सेती निर्माणका लागि दबाब दिन संघीय राजधानी काठमाडौंमा सुदूरपश्चिम दौडिने जनाएको छ ।

पश्चिम सेती निर्माणका लागि सुदूरपश्चिम दौडिन्छ भन्दै आगामी वर्ष बैशाख १ गते म्याराथन गरिने बोलन्या थलीले जनाएको छ ।

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग राख्दै आन्दोलित बोलन्या थलीले सात सय ५० युवालाई सडकमा दौडाउन लागेको हो । बोलन्या थलीले परियोजना निर्माणका लागि सरकारलाई दबाब दिन काठमाडौंमा सात सय ५० जना लाई ७.५ किलोमिटर दौडाउने बोलन्या थलीका संयोजक यादव जोशीले बताए । बल्खुदेखि दक्षिणकालीसम्म म्याराथन गरी आन्दोलन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

‘आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ ?’ नारा दिई बोलन्या थलीले प्रधानमन्त्रीलाई एक लाख पत्र बुझाउने तयारी पनि गरिरहेको छ । अहिलेसम्म ३५ हजार पत्र संकलन भइसकेको संयोजक जोशीले बताए । एक लाख पत्र पुग्नेबित्तिकै २० वटा डोकोमा पत्र राखी प्रधानमन्त्रीलाई बुझाउने उनले जानकारी दिए । यसका साथै आउँदो पुस १७ गते डोटी जिल्ला बन्द गर्ने कार्यक्रम पनि रहेको छ । सांकेतिक आन्दोलनको कार्यक्रम भएकाले एक दिन डोटी बन्द गरिने उनले बताए । सार्वजनिक कार्यालय सबै बन्द गरिने छन् । सवारीका साधन बन्द गर्ने वा नगर्ने भन्ने विषय छलफल जारी रहेको छ ।

सरकारलाई दबाव दिन आउँदो चैत महिनामा सात सय ५० जनाले सात सय ५० मिनेट अनसन बस्ने पनि उनले जानकारी दिए । यसबीचमा सडक सङ्घर्ष सांगीतिक कार्यक्रमसहितको आन्दोलन गरिने जोशीको भनाइ छ । पश्चिम सेती नबन्दाका समस्या र बनेपछि हुने फाइदाका झलक दर्शाउने गरी कैलालीको खानीडाँडामा पार्कसमेत निर्माण गरिने जोशीले जनाए ।

बोलन्या थलीले डडेल्धुरामा सडक सङ्घर्षका लागि सांगीतिक आन्दोलन समेत गरेको थियो । यसका साथै बोलन्या थलीले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग राख्दै माइतीघर मण्डला बाट कचौरा आन्दोलन गरेको थियो । कचौरामा पश्चिम सेतीको पानी राखी आन्दोलन थालेको थियो । चालु आर्थिक बर्षमा आयोजनाका लागि बजेट विनियोजन नभएपछि दिपायलको सेती नदी पुलमा सरकार हरायो भन्दै दिउँसै सात सय ५० वटा टुकी बाली आन्दोलनसमेत गरेको थियो भने हालै मात्रै परियोजनाको बाँध स्थल भनिएको बैतडी सिगास गाउँपालिकाको ढुङ्गाडमा सात सय ५० डोको राखी आन्दोलन गरिएको बोलन्या थली संयोजक जोशीले जानकारी दिए ।