‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भई काममा बाधा पुगेकोले तोकिएको अवधिमा काम सम्पन्न नहुने बहाना आयोजनाले बनाएको छ ।
सुरुङसँगै ‘हेडबक्स’को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो । तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा ६ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो । “चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने हामीलाई लागेको छ”, पन्तको भनाइ छ ।
निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले जानकारी दिए । पन्तलाई उद्धृत गर्दै राससले जनाएअनुसार गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो । अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिने छ ।
बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड-१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालनमा थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भइसकेको छ ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकसँग सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।
प्राकृतिक र प्राविधिक कारणले भन्दा पनि नियतवश नै मेलम्ची आयोजना निर्माणमा विलम्ब गरिएको आम बुझाई रहँदै आएको छ ।
प्रतिक्रिया