विशेष प्रतिनिधि, कपिलवस्तु
नेपाली कांग्रेस पार्टीले सरकारविरुद्ध देशभर विरोधसभा आयोजना गरेकै दिन कपिलवस्तुमा भने राजसंस्था स्थापनाको माग गर्दै प्रदर्शन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आग्रहलाई बेवास्ता गर्दै राजसंस्था पक्षधरहरुले कपिलवस्तुमा प्रदर्शन गरेका हुन् । बाणगंगाको चार नम्बर जीतपुर चोकमा भेला भएका उनीहरु मोटरसाइकल र्यालीसहित सदरमुकाम तौलिहवासम्म पुगेर कोणसभामा परिणत भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको छ । तर पनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा हजारौँको हाराहारीका प्रर्दशनकारी सहभागी थिए ।
प्रर्दशनकारीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेज गरी राजसंस्थासँगै हिन्दु अधिराज्य स्थापना गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
कोणसभामा विभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए ।
प्रतिक्रिया