आन्दोलनप्रति मातृभूमिका लागि नेपालीको ऐक्यबद्धता
सनत आचार्य
आफूहरूले बेचेको उखुको रकम भुक्तानी तत्काल पाउनुपर्ने माग राखी उखु किसानहरूले राजधानीको काठमाडौंमा गरिरहेको निर्णायक संघर्षप्रति ‘मातृभूमिका लागि नेपाली’ले एक विज्ञप्ति प्रकाशित गरी ऐक्यबद्धता जनाएको छ ।
संगठनका प्रवक्ता सनत आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारले कोभिड नियन्त्रण र सर्प पाल्ने नाममा अबौं रकम खर्च गरिरहेता पनि उखु किसानहरूको गत ५ वर्षदेखि चिनी मिलहरूले भुक्तानी दिनुपर्ने करिव नब्बे करोड रकमका लागि बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था आउनु आफैमा विडम्बनापूर्ण भएको जनाइएको छ ।
विज्ञप्तिमा सरकार उखु किसानका समस्याप्रति लामो समयसम्म उदासिन रहनु र राष्ट्रपतिले समेत उखु किसानहरूको भुक्तानी एक महिनाभित्र दिनु भन्ने निर्देशन दिइसकेको अवस्थामा उक्त निर्देशन कार्यान्वयन नगर्नुले पनि सरकार किसानको पक्षमा नरहेको प्रष्ट भएको बताइएको छ । त्यस्तै, यो उदासिनताले सरकार गरिब र किसानका लागि हैन र छैन भन्ने प्रमाणित गरेको छ भन्ने आरोप समेत लगाइएको छ ।
उखु किसानहरूको सम्पूर्ण बाँकी रकम तत्काल उपलब्ध गराउन चिनी उत्पादकलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ भने जुनसुकै अवस्थामा पनि किसानहरूले भुक्तानी पाउने वातावरण बनाउन सम्बन्धित सबैलाई चेतावनी दिइएको छ । संगठनले तत्काल उखु किसानहरूले दिनुपर्ने रकम उपलब्ध नगराए दबाबमूलक कार्यक्रममा उत्रने जनाइएको छ ।

यसैबीच सरकारले उखु किसानको रकम भुक्तानी नदिने चार वटा चिनी मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने अन्नपूर्ण सुगर तथा इन्दिरा सुगर मिल्स, श्रीराम सुगर मिल, लुम्बिनी सुगर मिल्स र राधिका सुगर मिल्सका सञ्चालकलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।
यसैबीच मातृभूमि संगठनका सहकर्मीहरूको एक समुहले मंगलबार नै उखु किसान संघर्ष समितिसँग भेट गरी उखु किसानहरूले उठाएको मागलाई आफूहरूको पूर्ण समर्थन रहेको जानकारी गराएको संगठनका केन्द्रीय सदस्य दीपकसिंह महर्जनले बताएका छन्
प्रतिक्रिया