सुरेन्द्रमान अमात्य, बेल्जियम

नेपालको इतिहासमा वि.सं. २०१७ पौष १ ऐतिहासिक दिन हो । यो दिन राजा महेन्द्रबाट नेपालको इतिहासमा पहिलो पल्ट जनताबाट दुई तिहाइ बहुमतको निर्वाचित संसद र बीपी कोइराला नेतृत्वको सरकार भङ्ग गरी पञ्चायती ब्यवस्थाको घोषणा गरिएको थियो । त्यसकारण यो दिनलाई कतिपयले कालो दिन भन्ने गरे पनि ६० वर्षपछि आज स्वर्णयुग थालनी भएको दिनको रुपमा नेपाली जनताले लिन थालेका छन् र यही दिनको सम्झनामा केही शब्द कोर्ने जमर्को गरेको छु ।
यो दिनलाई राजा महेन्द्रप्रति पूर्वाग्रह राख्नेहरुले कालो दिनको संज्ञा दिए पनि राजा महेन्द्रको सो कदमलाई तत्कालीन प्रधानमन्त्री बीपी कोइराला स्वयमले स्वीकार गरेका थिए कि राजा महेन्द्रले देशको हितकै लागि उक्त पाइला चालेका हुन् । बीपीले यस्तो अभिब्यक्ति दिएको तथ्य पाइन्छ। किनकि, एक देशभक्त र राष्ट्रवादी नेता भएका कारण बीपीले सदा आफू र आफ्नो पार्टीभन्दा देश र जनता नै सर्वपरि भएको माने । तसर्थ, म बीपीलाई उच्च सम्मान गर्दछु ।
साँच्चै भन्ने हो भने नेपालको राजानीतिक, आर्थिक, कुटनीतिक र सांस्कृतिक विकास यही दिनदेखि प्रारम्भ भएको कुरालाई कसैले नकर्न सक्दैन । किनकि विश्व राजनीतिक रंगमंचमा नेपालको नाम त्यही दिनदेखि उदय भएको हो । दोश्रो विश्व युद्धपश्चात विश्व दुई अलग धारमा विभाजित भई शीतयुद्धको लहर चल्न थालेको थियो । पुँजीवादी विचार बोक्ने अमेरिका एकातिर र समाजवाद बोकेको तत्कालिन सोभियत संघ अर्कोतिर थियो, जसको कारण विश्वमा पैदा भएको शीतयुद्धको कारण दक्षिणतिर विशाल भारत र उत्तरतिर विशाल चीनको बीच अवस्थित सानो भूपरिवेष्ठित देश नेपाललाई अति अप्ठ्यारो परेको थियो ।
त्यतिबेला नेपाल जस्ता मुलुकहरु युगोस्लोभिया, इण्डोनेशिया, घाना, इजिप्ट र भारतका नेताहरुले अमेरिका र सोभियत संघ दुवैको पक्ष अवलम्बन नगर्ने हेतुले असंलग्न सिद्धान्तलाई अंगिकार गर्ने बाटोतिर लाग्न सन् १९५५ मा युगोस्लिभियाको सर्बिया शहरमा बैठक आयोजना गरी विश्व असंलग्न आन्दोलनको आरम्भ गर्यो । यो आन्दोलनका शीर्षस्थ नेताहरु युगोस्लोभियाको राष्ट्रपति मासैल जोसेफ टिटो, इण्डोनेसियाका रास्ट्रपति सुकार्नो, इजिप्टका राष्ट्रपति अब्दुल गयुम नाशिर, घानाका राष्ट्रपति आंक्रोमा र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु हुन् । यिनीहरुको पहलमा आयोजना गरेको पहिलो विश्व असंलग्न शीर्षस्थ सम्मेलन १९५६ मा इण्डोनेसियाको बगडुङ शहरमा सम्पन्न भयो ।
उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व राजा महेन्द्रबाट भएको थियो । तत्पश्चात युगोस्लोभिया, इजिप्ट,जाम्बिया, भारतमा भएका शीर्षस्थ सम्मेलनहरुमा पनि सम्मिलित भई नेपालले अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका राजा महेन्द्रका कारण निर्वाह गरेको थियो । जसको कारण देशमा पञ्चशीलको सिद्धान्तको धरातलमा रहेर असंलग्न परराष्ट्र नीतिको सिद्धान्तको आधार देश परराष्ट्र नीति तय गरी विश्वका सबै मित्रराष्ट्रह र छिमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गर्न नेपाल सफल भयो ।
यही सफलताको कारण देशको पूर्वाधार विकाश गर्न ठूलो सफलता प्राप्त भयो । विभिन्न मित्रराष्ट्रहरुको सहयोगमा महेन्द्र राजमार्ग, कोदारी राजमार्ग जस्ता राजमार्गहरुको निर्माण भयो, बाँसबारी छला जुत्ता कारखाना, हेटौँडा सिमेण्ट कारखाना, हरिसिद्धी र भक्तपुर इट्टा टायल कारखाना, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना जस्ता दर्जनौँ कलकाराखानाहरु स्थापना गरी देशलाई आवश्यक पदार्थहरुको आत्मनिर्भरतातिर अगाडि बढ्न सक्षम भए र रोजगारी सृजना गरियो । आज ती सबै कलकारखानाहरु गुन्द्रुकको मुल्यमा बिक्री गरी देशलाई परनिर्भरतातिर धकेलेर देशका लाखौँ युवाहरुलाई देशमा स्वरोजगारीबाट च्युत गरी खाडी मुलुक, मलेसिया र कोरियातिर रगत पसिना बगाउन जान बाध्य तुल्याए ।
राजा महेन्द्रको अझ महत्वपूर्ण कार्य भनेको देशको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्नेमा देखियो । २००७ पछि नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुकको हस्तक्षेपकारी भूमिकाको कारण देशको सार्वभौमसत्ता र स्वतन्त्रमा खतरा महसुस हुन थालिसकेको थियो । किनकि स्व. राजा त्रिभुवनको शासनकालमा हरेक क्षेत्रमा भारतको हस्तक्षेप नेपालको भूमिमा भारतीय सुरक्षा पोष्ट आदि विद्यमान थियो । त्यस्ता विकृतिहरुलाई राजा महेन्द्रको दूरदर्शी शासनको कारण विश्वमा नेपालले स्वतन्त्र सार्वभौमसता सम्पन्न मुलुकको हैसियतसहित अन्तर्राष्ट्रिय मामलामा आफ्नो भूमिका प्रस्तुत गर्न सफल भयो । जस्तै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद जस्तो अति महत्वपूर्ण र संवेदनशील संस्थाको २० वर्ष १९६६-८६ सदस्य बन्न सफल भयो । सन् १९६५ मा राष्ट्र संघले दक्षिण अफ्रिकामा रंगभेदको विरुद्ध आन्दोलनको नेतृत्व गर्ने नेल्सन मण्डेलालाई २७ वर्ष जेल सजाय दिएको विरुद्ध राष्ट्र संघमा एउटा समिति गठन गरिएको थियो, जसलाई UN special committee for Anti Apretheid Government of South Afrika भनिन्छ, त्यो कमिटीमा नेपालले २७ वर्ष १९६५-९२ cochair को हैसियतले आफ्नो क्षमता प्रदर्शन गरेको थियो । यस्तै भूमिका निर्वाह गरेको कारण आज संयुक्त राष्ट्र संघको शान्तिसेनामा नेपाललाई बढि प्राथमिक्ता दिएर सबभन्दा बढी संख्यामा (करिव २० हजार) नेपाली सेना कार्यरत छन् ।
वास्तवमा नेपालको विकाशमा राजा महेन्द्रको बयान गरे पनि कम हुन्छ ।
आजका युवाहरुले बुझ्नैपर्ने कुरा के भने हाम्रो नेपालको मुद्रा हाम्रै देशमा चल्दैन थियो, २०१९र२० सम्म । राजा महेन्द्रले २०१८ सालमा नेपाल राष्ट्र बैंक खोलेर धेरै प्रयासपछि मात्र देशभर नेपाली मुद्रा प्रचलनमा ल्याउन सफल भएका थिए । अन्यथा त्यति बेलासम्म पूरा तराईमा भारतीय मुद्रा मात्र चलनचल्तीमा थियो । नेपाली मुद्रा केवल काठमाडौं, पोखरा र अन्य केही पहाडी भागमा मात्र चल्थ्यो । राजा महेन्द्रकै पालामा शाही नेपाल वायु सेवा निगम, राष्ट्रिय बाणिज्य बैंक, राजकीय प्रज्ञाप्रतिष्ठान संस्थाहरुको स्थापना भएको हो ।
यस्तै, राजा महेन्द्रकै शासन कालमा विभिन्न देशसँग दौत्य सम्बन्ध स्थापना गरी राज्य प्रमुखहरु सरकार प्रमुखहरुको भ्रमणको आदानप्रदान हुन थालेको थियो । जस्तै, सन् १९६० मा बेलायतकी महारानी एलिजाबेथ, रुसी राष्ट्रपति भोरोभसिलोव, युगोस्लोभियाको राष्ट्रपति जोसेव टिटो, जर्मन राष्ट्रपति हेनरिक्क लुप्के, चीनको प्रधानमन्त्री चाउ इन लाइ, भारतीय प्रधानमन्त्री नेहरु आदि । त्यस्तै राजा महेन्द्रका विभिन्न सभा सम्मेलन र राजकीय भ्रमणहरु उल्लेखनीय छन् । तीमध्ये १९६१ मा बेलायत भ्रमण हुँदा बेलायती महारानीबाट लण्डन रेल वे स्टेसनसम्म आइ स्वागत गरेर बेलायतको सदन प्रतिनिधिसभा र हाउस अफ लर्डको संयुक्त सभालाई राजा महेन्द्रबाट सम्बोधन गरिएको थियो । त्यस्तै, सन् १९६२ मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दा राजा महेन्द्रबाट संयुक्त राज्य अमेरिकाको कांग्रेसको दुवै सदन सिनेट र प्रतिनिधिसभाको संयुक्त सभालाई सम्बोधन गरिएको थियो ।
यसरी राजा महेन्द्रबाट नेपाललाई अन्तराष्ट्रिय राजनीतिक रंगमंचमा प्रस्तुत गरी असंल्गन परराष्ट्र नितको माध्यमबाट विश्वका शक्तिसाली देशलगायत सम्पुर्ण देशसँग सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध कायम गरी देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डता अक्षुण्तालाई कायम गरी देश विकाशमा जुन किसिमको भूमिका निर्वाह गरियो त्यो आज देशभक्त राष्ट्रवादी नेपाली जनताको मन र मष्तिष्कले बिसैन सक्दैन । त्यही कारण आज मै हुँ भन्ने गणतन्त्रवादी नेताहरुले शुद्ध बाध्यता साथ स्वर्गीय राजा महेन्द्र स्मरण गरिरहेको आमनेपालीले सुनिरहेको छ । तसर्थ, यो कुरा नेपाल र नेपालीको लागि यदि बडामहाराजाधिराज पृथ्वीनारायण शाह र राजा महेन्द्रको यो पुण्यभूमिमा जन्म नभएको भए विश्व मानचित्रमा नेपालको नाम रहने छैन होला । यही कुरालाई मनन गरी समस्त नेपाली आज पौष १ गतेलाई कालो दिन होइन नेपाल स्वर्णिम युगमा प्रवेश गरेको दिनको रुपमा हर्षोल्लास साथ मनाउने गरौँ । यसैमा नेपालीको कल्याण हुनेछ । जय देश जय राष्ट्र ।
प्रतिक्रिया