केपी ओली नेतृत्वको सरकारबाट गत आइतबार राजीनामा दिएका निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबारे सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।
पुनका स्वकीयसचिव तथा नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आपत्ति जनाएका हुन् । संसद विघटनको कदमको विरुद्ध उभिएका पुनको कदमबाट डराएका केही पात्र र प्रवृत्तिले उनको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने मनसाय राखी गलत प्रचार गरेको चापागाईंले जनाएका छन् ।
आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुनले मन्त्रीनिवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगिएको दाबी गर्दै चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरूमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

ज्ञातव्य छ, मन्त्री पदबाट दिउँसो राजीनामा दिएका वर्षमान पुनले पुलचोकस्थित निवास छाडेर रातको समयमा डेरा सरेका थिए । सो क्रममा गलैँचालगायतका घरायसी सामानहरू पिकअप भ्यानमा लोड गरी लैजाँदै गरिएका तस्बिरहरू सार्वजनिक भएका थिए । मन्त्री पुन आफैंले समेत पदमा नरहेपछि एक रात पनि आफू निवासमा बस्न नचाहेको र यो आफ्नो पहिलेदेखिकै आदत रहेको जानकारी गराएका थिए ।
तर, कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री पुन डेरा सर्दै गरेको तस्बिर संलग्न गरी ‘रातको समयमा डेरा सर्दै पुनले मन्त्री क्वाटरका गलैँचा लिएर गएको’ सन्देश प्रवाहित गरेका थिए ।
प्रतिक्रिया