■ प्रकाश केसी, लण्डन

केही दिनदेखि लण्डन र दक्षिणपूर्वी इंग्ल्याण्डमा कोरोना भाइरसको संक्रमणको दर एक्कासी बढेको छ । गत सेप्टेम्बरमा देखापरेको भाइरसको यो नयाँ स्वरुपमा ७० प्रतिशत ज्यादा संक्रमणको शक्ति भएको बताइएको छ ।
ताजा तथ्यांकअनुसार ८ डिसेम्बरमा १२,२८१ नयाँ संक्रमण भएको लण्डनमा २० डिसेम्बरमा ३५,९२८ पुगेको छ । कोरोना भाइरसको यो नयाँ परिवर्तित रूप कत्तिको घातक छ भन्ने बारेमा कुनै प्रमाण फेला नपारिएको, भर्खरै प्रयोगमा ल्याइएको फाइजर र मोडेर्ना भ्याक्सिनमा यस कोरोनाको नयाँ स्वरुपको कोरोनासँगको प्रतिरोधात्मकतामा हुने वा नहुने असर वा प्रभावको बारेमा कुनै प्रमाण फेला नपारिएको बताइएको छ । तर यसैबीच दर्जनौँ मुलुकले बेलायतसँगको यातायातका सबै सम्पर्कहरू बन्द गरेका छन् ।
दश दिन मात्र बाँकी रहेको छ, बेलायत युरोपियन युनियनसँग वैधानिक रूपमा सम्पूर्णतः अलग हुनको लागि । अझै पनि युनियन र यूकेबीच व्यापारिक सम्झौताहरू भएका छैनन् । खासगरी एउटै विधा (फिसरिज)मा सम्झौता अड्किएको छ, जहाँ बताइएअनुसार मतहरूको खाडल फराकिएका छन् तर युनियनका साथै यूकेको लागि सो सम्झौता मूलतः व्यापारिक प्रयोजनको हिसाबमा धेरै सानो भए तापनि राजनैतिक स्तरमा ठूलो बताइएको छ र, दुवै पक्ष त्यही अडानमा यथावत रहने सम्भावना ज्यादा भएकोले नै यूके र युनियनबीच कुनै सम्झौता नभई ३१ डिसेम्बेरसम्मको ट्रान्जिसनल पिरियडको अन्त्य हुने सर्वत्र अनुमान गरिएको छ ।
बेलायतमा फेला पारिएको भाइरसको नयाँ स्वरुपको समाचारपछि अन्य कतिपय देशहरूसँगै छिमेकी फ्रान्सले दुई दिनको लागि बेलायतसँगको सबै सम्पर्कका रुट र माध्यमहरूलाई बन्द गरिदिएको समाचारलगत्तै बेलायतमा एक प्रकारले भयावह स्थितिको सिर्जना छाएको छ । लण्डनलगायत दक्षिणपूर्वी इंग्ल्याण्डमा संक्रमणको दर बढ्नासाथ पूर्वनियोजित पाँच दिने क्रिसमस ब्रेकलाई पूर्ण रूपमा निषेध गरी ‘टीयर ४’ बन्दको कडा नियमअनुसारले क्षेत्रीय स्तरमा बन्द शुरु गरेको बेलायतमा यसै त खाद्यान्नहरूको अभाव हुने अवस्था सिर्जना भएकैमा अब युनियनसँगको व्यापारिक सम्झौताविहीनताको भय, नयाँ भाइरसको आतंक अनि विविध मुलुकलगायत आपूर्तिका पारवाहन प्रतिकुलताले ज्यादा असहजता जगाएको छ ।
मुलुक लामो समयदेखि आशिंक तथा पूर्ण रूपका अनेकौँ लकडाउनका नियमहरूले आततायी भएको अवस्थामा पछिल्लो पटक खासगरी क्रिसमस तथा नयाँ वर्षको पर्विलो समयमा आतंकित बनेको छ । टीयर ३ सम्मको नियमअनुसारले तीन दिनअगाडिसम्म मुलुकका विभिन्न क्षेत्रहरुमा लकडाउन हुने भनिए तापनि क्रिसमसको अवधिको पाँच दिनसम्म आफ्नाहरूसँगको सहभागिताको न्यानो लिन पाउने आश गरेको लाखौँ परिवार आखिरमा निरास भएका छन् ।
टीयर ४ मा अर्को कुनै परिवार तथा व्यक्तिसँग पनि घरमा भेट्न नपाइने यो नयाँ नियमले मुलुकमा मानसिक रोगीहरुको नयाँ उत्पत्ति हुने पक्का छ । पिँजडामा राखिएको सुगाको मानिसकतामा रुमल्लिएका नागरिकहरूमध्ये लाखौं नागरिकले सरकारले दिलाएको राहतस्वरुको ८० प्रतिशतको दरले तलव हासिल गरेर घरमा बसिरहेका छन् भने हजारौँ हजार नागरिकले यो महामारीले गर्दा आफ्नो जागिर नै गुमाएका छन् । महिनौँको बन्दले गर्दा ठूला ठूला पसलहरु बन्द भएका छन्, सयौँ व्यवसायहरू धरासयी भएका छन् ।
बेलायतले कम्पनी तथा व्यवसायहरूलगायत नागरिकलाई बचाउनका लागि ३५० बिलियन पाउण्डभन्दा ज्यादा तलबकै लागि खर्चिसकेको छ र यो योजना करिव २ वर्षको लागि गर्ने हुँदा सो खर्च अझै कत्तिको आँकडामा बढ्ने हो, अनुमान लगाउन मुस्किल छैन । भ्याक्सिनको लागि अहिलेसम्म यूकेले १३ बिलियन पाउण्ड तिरिसकेको छ । भ्याक्सिनको प्रयोगले मुलुकमा अवस्था सामान्य हुने आश पलाउँदै आउँदा कोरोनाको नयाँ स्वरुपको संक्रमण उदयले बेलायती समाजिक जीवन त्रस्त हुँदै गएको छ भने मुलुक ऋणको भारले अझ दब्दै जान सक्ने अवस्था निम्तिएको छ ।
प्रतिक्रिया