उल्टो घुम्ने घडीको निसानाभित्रका नागरिक !

उल्टो घुम्ने घडीको निसानाभित्रका नागरिक !


  • रमेश भट्टराई ‘सहृदयी’

समाज र मुलुकको गतिलाई व्यवस्थित तुल्याउन विचार र व्यवहार दुवै कुरा पारदर्शी हुनुपर्छ । आज समाजको घडीको सुई उल्टो घुमेपछि चाङमाथि चाङ समस्या बढेका छन् । यसकारण जनताले ‘राजतन्त्र ठीक कि लोकतन्त्र ?’ भन्दै छन् । विद्वत् वर्गहरू राजतन्त्रलाई निरङ्कुश हो भन्ने कारण र दोष खोतलेर सकेसम्म जनतालाई राजतन्त्रको वकालत गर्नुलाई मूर्खताको संज्ञा दिन हात धोएरै लागेका छन् । कतिपय नेतृत्व तहमा जनतालाई सडकमा देखेर भय बढेको भान हुन्छ । यसलाई बेलायती राजतन्त्रको फितलो संज्ञा दिन मन हुँदो हो तर जे होस् यो सबै अस्थिरताको मूल कारण अहिले सत्तारूढ दलभित्रको सत्तास्वार्थको कुर्सीप्रेमी गुटगत युद्ध मात्रै हो ।

हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘महापुरुषको सङ्गत’ निबन्धमा भेटेका महापुरुषहरू जसरी नै आज जनताले असल नेताको खोजी गर्नुपर्ने दिन आएको छ । निबन्धकारले त्यहाँ ‘लम्बरी पण्डितले धेरै मोल आए गोरु बेच्ने नत्र बाहुनले गाई-गोरु बेच्नु नहुने’ भनेजस्तो अर्थात् महास्वार्थी मात्रै नभएर आफ्नो बखान आफै गर्दै हिँड्ने नामचाहिँ सद्गुणानन्दजस्तो सोच भएका नेतृत्वले राजनीति कलुषित छ । आठजना पात्रमध्ये ‘बुहारीको जिउ होस् या त बिरालीको घिउ’ जे बेचेर भए पनि पैसा नै कमाउने कालु साहु, यौनभोगी पण्डित गोपी गुरु, यसो विदेश पसिसक्दा भाषा र संस्कृति बिर्सने दाहाल बाबु भन्ने मान्छे स्वदेश फर्किसक्दा ‘मिस्टर ड्याल बाउ’ भएर आएका लगायतका गज्जबका प्रसङ्ग आज पनि यथार्थ बनिरहेका छन् । जनता आज बडो असमञ्जसमा कुँजिएर बसेका छन् । समाज र राजनीतिभित्रका कलुषित आचरण र प्रवृत्तिले मुलुकलाई नङ्ग्याउने काम गरिरहेका छन् । पाखण्डी भए पनि नेता हुने, बलात्कारी, भ्रष्टाचारी भए पनि नेता नै हुने कुसंस्कारले राजनीतिमा असल व्यक्ति को छ भनेर खुट्याउनै नसकिने अवस्था छ । यसको मूल कारण काम गरेर देखाउन भन्दा काम नगरेर झुक्याउन चाहनेको अचम्मको प्रतिस्पर्धा हाबी देखिन्छ ।

हिजो एउटा समयमा राजतन्त्रको विरोध गर्दा असत्य हुन्थ्यो । त्यो असान्दर्भिक लाग्थ्यो । त्यतिखेर त सर्वहारा वर्गलाई नै सर्वहारा हुँ भन्ने थाहा थिएन । तथापि, राजतन्त्रात्मक व्यवस्थामा पनि त विकास र शान्तिकै पक्षमा नारा घन्किएका हुन् । त्यतिखेर एक व्यक्ति र सीमित मान्छेको चाकडी गरेर केन्द्रीकरणको राजनीति हुन्थ्यो । आज त चाकडी र राजनीतिक स्वार्थ पनि बहुल व्यक्तिमा विभाजित छ । चाकडीमा पनि उपचाकडीको स्वार्थ हिजोको तुलनामा निक्कै बढेको छ । यद्यपि त्यो स्थापित स्वार्थको तहमा भएर पनि देशको स्वार्थतिर उन्मुख राजनीतिक व्यवस्था थियो । स्वार्थको हिसाबमा त त्यतिखेर पनि जनताको समृद्धिकै अपेक्षाचाहिँ गरिएको हो । राजतन्त्रचाहिँ अकाट्य शासन अनि विकासको कुरा जोड्दै लैजाने केन्द्रीकरणको सोचले परिवर्तनको कुरा कछुवा गतिमा चलेको देखिन्थ्यो । मान्छे आफ्नो गरिखान्थे । चियागफभन्दा पेटको समस्या र आफ्नै कर्मतिर मानिस अल्झिएका देखिन्थे । जनतामा परिवर्तनको सोच जगाउने काम शिक्षाबाटै अलिक बढी भयो । पढालेखाहरूले नै समाज र व्यवस्थामा सुधारको अपेक्षा गरिरहँदा माओवादी द्वन्द्वले हिंसाको खाडलभित्र जाकिदिएको हो ।

यो लडाइँ राष्ट्रिय स्वार्थको कतैबाट पनि होइन । यस्ता व्यक्तिस्वार्थजनीन सोचकै कारण हिजोको राजतन्त्रलाई निरङ्कुश भनिएको होइन र ? यो नकारात्मक दिशाको घडीको सुई नितान्त उल्टो दिशामा छ ।

०६२/६३ को जनआन्दोलनलाई माओवादी द्वन्द्वले बेस्सरी ढाडस दियो । १७ हजार जनताको रगत र पसिनाको परिणामलाई कमसेकम भावनात्मक सम्बोधन होला भन्ने अपेक्षा जनतामा बढ्यो पनि । लट्ठी र मुङ्ग्री गर्दै डर र धम्कीका कारण अर्थात् माओवादी भन्ने नयाँ पार्टीलाई चाखौँ न त भन्ने नयाँपनको खोजीका कारण भए पनि तत्कालीन माओवादी पार्टीलाई जनताले चुनेकै हो । अरूलाई यथास्थिति आफूलाई क्रान्तिकारी मात्रै होइन हाम्रो ‘गौरवशाली क्रान्तिकारी पार्टी’ भनेर शिर ठाडो पार्ने दिन त्यतिखेरसम्म कायम थियो जबसम्म त्यो पार्टी एउटै झण्डामुनि थियो । प्रचण्ड, बाबुराम, वैद्यजस्ता व्यक्तिको एउटै विचार र एउटै स्वार्थ थियो । जङ्गलमा एउटै थालमा भात खाएर टाउकाको मोल तोकिएका मान्छे एकै कित्तामा हुन नसक्नुको मूल कारण नेतृत्व हस्तान्तरण नहुनु र सत्तास्वार्थमै गएर थुरियो र आज पनि ठ्याक्कै त्यही छ । प्रचण्डद्वारा अध्यक्षको पद हस्तान्तरण गर्ने आँट नगरिनु यसको अर्को विशेष कारण हो ।

आज हिजोको माओवादीको बिउ टुक्रिएर नयाँ बिरुवा उमार्ने शक्ति मरिसके जसरी नेपाल कम्युनिस्ट पार्टी पनि मर्ने बाटोतिर उन्मुख रहेको प्रष्ट छ । यो व्यक्तिसत्तामा आधारित स्वार्थको लडाइँमा देश र जनता सिध्याउने सोचबाहेक उन्नतिको स्थान कदापि छैन । यो लडाइँ राष्ट्रिय स्वार्थको कतैबाट पनि होइन । यस्ता व्यक्तिस्वार्थजनीन सोचकै कारण हिजोको राजतन्त्रलाई निरङ्कुश भनिएको होइन र ? यो नकारात्मक दिशाको घडीको सुई नितान्त उल्टो दिशामा छ । कात्तिकदेखि मङ्सिर महिनाभरिमा मात्रै प्रदेश १ को इटहरी, बसुन्धराको अगुवा भेला, मदन भण्डारी कलेजमा विद्यार्थी भेला, मोरङमा प्रदेश १ को भेला गरी ओली पक्षले भेला गरेको देखिन्छ भने प्रचण्ड-नेपाल पक्षले मङ्सिरदेखि पुससम्ममा नै भनौँ काठमाडौँमा विद्यार्थी भेलादेखि बाग्मती प्रदेश, दमक र विराटनगरमा पनि विद्यार्थी भेला, काठमाडौँमा पुस ३ गते प्रदेश १ का जिल्ला पदाधिकारीको भेला राखेको देखिन्छ । यसको अर्थ यो व्यक्तिस्वार्थभित्र राष्ट्रिय स्वार्थ नै चकनाचुर भएको छ ।

०६२/६३ को जनआन्दोलनमा त राजतन्त्र निरङ्कुश हो भनेर राजा फाल्दा छुमन्तरै हुन्छ भनेर भनिएका पनि हुन् । त्यसपछिको परिवेशमा पनि परिवर्तनले गति लिनै सकेन । मान्छे मारेर माथि पुग्नेले जनताको स्वार्थ भन्दै कुर्सीको स्वार्थलाई नै रोजे । सबैको दिमागमा अस्थिर सरकार भएका कारणले समस्या भयो भनियो । त्यहाँ पनि घडीको सुई सुल्टो घुमेन । तब ‘नौ महिने सरकार’ पद्धतिलाई दोष दिइँदै गइयो । संविधान नबनेको कुरालाई लिएर पनि निकै समय होहल्ला भए । संविधान पनि बल्लतल्ल १० महिनासमम्ममा जन्मनुपर्ने बच्चा १५ महिनामा जन्मे जसरी अचम्मित नै मान्नुपर्ने गरी सारै कठिनले मात्रै आयो । जनवर्गीय संविधानको नाम दिइयो । राजतन्त्रको वकालत तब त बिस्तारै–बिस्तारै भुल्दै गइएकै थियो । तत्पश्चात् अझ भनौँ– स्थिर सरकार त्यसमा पनि बहुमतको सरकार बनेपछि जनताले छाती ढक्क फुलाएर भन्न पाएका थियौँ, ‘अब त घडीको सुई सुल्टो घुम्ला नि त !’

ऊखु किसानले न्याय खोज्न सडकमा वर्षौँदेखि आन्दोलन गर्नुपर्ने दुर्दशालाई सर्वहाराको नेतृत्व गरेको हुँ भन्नेले नै निम्त्याएका हुन् । यस मानेमा राजतन्त्रको वकालत गर्ने जनतालाई असचेत, अन्धविश्वासी, अज्ञानी भन्ने संज्ञा दिनु पनि लोकतन्त्रको विरोधी विचार हो भन्ने लाग्छ ।

भन्नलाई त ‘परिवर्तन छुमन्तर गरेर हुने हो र, बिस्तारै भइरहेको छ नि’ भन्दा पनि हुन्छ । अर्थात्, ‘लोकतन्त्रमा पार्टी–पार्टीबीच अन्तरविरोध त भइहाल्छ नि’ भन्ने तर्क बोक्नेको पनि कमी छैन तर यदि कथमकदाचित जनताले विकल्पमा उही सडकबाट फालेको राजतन्त्रलाई सडकबाटै ल्याए भने पनि दुई धार हुने त पक्का छ । यसको अर्थ घडीको सुई त जसरी घुमे पनि घुम्छ तर अस्थिर र असन्तुष्टि तब पनि कायमै रहन्छ । यो पनि अन्तिम विकल्प र अन्तिम सत्य होइन भन्ने देखिन्छ । बामएकताले बहुमतको सरकार निर्माण हुँदा जनताको मुहारमा छाएको खुशी सडकमा गएर थुरिँदै छ । केवल राजनीतिक स्वार्थ यसको कारण हो । यो केवल व्यक्तिगत स्वार्थका लागि नेताहरूले बाँधेको गुटको परिणाम हो अनि त्यही गुटलाई बोक्ने नेतालाई चाप्लुसी गरेर साथ दिने अवसरवादी कार्यकर्ताको कारणले हो । यसर्थ अबको परिवर्तनका लागि गुटगत राजनीतिको विपक्षमा रहेर गुटरहित राजनीतिको समर्थन गर्दै विकासतर्फ लम्कनु जनताको पनि दायित्व हो । विकास र समृद्धिबाहेक अरू स्वार्थको तहमा साथ नदिनु जत्तिको उत्तम केही होइन । यो आम जनता र पार्टीको झण्डा बोक्ने कार्यकर्ताको हातमा छ ।

अहिलेको राजनीतिक लडाइँ, माओवादी द्वन्द्व, जेलनेलका कुरा र हाम्रा अहिलेका त्यागको कथा जत्तिको इतिहास त पक्कै पनि बलभद्र, भीमसेन, अमरसिंह जस्ताको हस्तीको तहमा थिएन नै । जतिसुकै इतिहासलाई गालीगलौज गरे पनि हिजोको लडाइँ राष्ट्र र स्वाधीनताको रक्षाका लागि थियो जसले रत्तिभर पनि व्यक्तिगत स्वार्थका लागि सोचेनन् । तब त्यहाँ गुटगत स्वार्थ कमजोर बन्न पुग्यो । आजको राजनीतिक माहोल जति धेरै दुर्गन्धित भएर डुङडङती गन्हाएको छ हिजोको त्याग त्यसको विपरीत सलोटयोग्य छ । यसर्थ, इतिहासले आजको नेतृत्वलाई प्रश्न गरेर भन्ने छ- राजतन्त्र कि लोकतन्त्र भन्ने बहस चलाउने काम गुटगत राजनीतिका कारण नै उब्जिएको हो । ऊखु किसानले न्याय खोज्न सडकमा वर्षौँदेखि आन्दोलन गर्नुपर्ने दुर्दशालाई सर्वहाराको नेतृत्व गरेको हुँ भन्नेले नै निम्त्याएका हुन् । यस मानेमा राजतन्त्रको वकालत गर्ने जनतालाई असचेत, अन्धविश्वासी, अज्ञानी भन्ने संज्ञा दिनु पनि लोकतन्त्रको विरोधी विचार हो भन्ने लाग्छ । जनताले न्यायका लागि विकल्प खोज्दा महापुरुषको खोजी गर्दागर्दा थाकेपछि यो वकालत पुनः ब्युँतिएको हो ।

आफैले आफैंलाई महापुरुष घोषणा गरेर आफूबाहेक अरूको विश्वास गर्न नसकिने अवस्था आजको यथार्थ हो । यस मानेमा मुलुकको घडीको सुई विलकुल उल्टो दिशामा चलेको छ ।

लोकतन्त्र र राजतन्त्रको बहसभित्र उनिएर आएका विचारमध्ये ठीक र बेठीकको तर्कलाई भन्दा कारक पक्षलाई हेरिनु आवश्यक छ । परिवर्तन छुमन्तर त होइन तर ५० वर्षअघिको चीन र आजको चीनलाई हेरौँ, २० वर्षअघिको जापान र आजको जापानलाई हेरौँ न । विकासका लागि व्यवस्था मात्रै होइन भिजन पनि चाहिन्छ । आज त्यही महापुरुषको खोजीमा जनताले सडकबाट विकल्पको उद्घोष गरेका हुन् । कि त जादुको छडी बोक्ने मान्छे साँच्चै नै खत्रक्क आउनुपर्ने भयो नत्र कोभन्दा को राम्रो भन्दै गर्दा जनताले बरु त राजतन्त्र नै ठीक भन्ने बित्तिकै तँ अन्धविश्वासी, तँ प्रतिगामी, तँ पुरातनवादी भन्नु पनि त अलोकतान्त्रिक होला नि त ।

बहस कुन ठीकभन्दा पनि चाहिएको चीज र भनिएको अनि गरिएको सन्दर्भले पटक्कै मेल नखाएको मात्रै हो । हिजै हामी कुर्सीका लागि जे पनि गर्छौं भनेको भए त जनताले राजा नै ठीक भनिहाल्थे नि । तब फेरि यहाँसम्मको बहस जरुरी हुने थिएन । समाजको उल्टो सुई पनि सोचगत तहमा ओर्लिएर उल्टो घुम्दै छ । समयले समाजलाई बदल्ने कुरालाई मात्रै उपलब्धि मान्ने हो भने विकास र विनासका तहमा सोच र शैलीले बढी प्रभाव पार्छ । यसर्थ समाजले निर्धारण गरिदिएको सत्य र व्यक्तिको चाहना पनि अलग हो । आज देखिएको परिवर्तनले हिजोकै जस्तो राजतन्त्रलाई पक्कै ल्याउन सक्दैन भन्नेचाहिँ पक्का हो । जनताको हक र हितका बारेमा सोच्ने गरी सुधारिएको व्यवस्था होला तर जनताको चाहना भने उत्तम विकल्पको खोजी नै हो । भैरव अर्यालले भनेझैँअन्तिममा आफैले आफैंलाई महापुरुष घोषणा गरेर आफूबाहेक अरूको विश्वास गर्न नसकिने अवस्था आजको यथार्थ हो । यस मानेमा मुलुकको घडीको सुई विलकुल उल्टो दिशामा चलेको छ । यस विषयमा त जनताले पनि अबको राजनीतिमा बोलेर पूरा नगर्नेलाई कारणसहित चित्तबुझ्दो प्रतिवेदन माग्नुपर्छ ।