तेस्रो लकडाउनको पहिलो साँझ यस्तो देखियो भियना

तेस्रो लकडाउनको पहिलो साँझ यस्तो देखियो भियना



(फोटो फिचर)

सागर सुवेदी, अष्ट्रिया

कोभिड संक्रमणको पारो बढेसँगै बाँकी विश्वजस्तै अष्ट्रियालाई पनि असर गरेको छ । शनिबार अष्ट्रियामा बायो एन टेक र फाइजर मिलेर बनाएको खोप दशहजार भाइल डेलिभरी भएको छ भने २७ डिसेम्बर (आइतबार) देखि शुरुमा नर्सिङ होमहरुमा बसोबास गर्ने सिनियर सिटिजनका लागि खोप सुरु गरिने अष्ट्रियाका स्वास्थ्यमन्त्रीले बताएका छन् । खोप पहिलो चरणमा राजधानी भियना तथा तल्लो अष्ट्रिया राज्यमा (संघीय राज्यको नाम) पाँच र पाँच हजार व्यक्तिहरुमा लगाइने जनाइएको छ भने त्यसपछि आउने खोप नर्सिङ होममा कार्यरत डाक्टर, नर्स तथा अस्पतालहरुमा काम गर्ने कर्मचारीका लागि दिइने भनिएको छ ।

यसैबीच कोरोनाले आफ्नो स्वरुप परिवर्तन गरेको देखिएको छ । प्रथम पटक बेलायतमा कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको खबर आएपछि अरु युरोपेली मुलुकहरु चनाखो बनिरहेका छन् भने बेलायतसँग आवतजावत नियन्त्रण गरिएको छ । भाइरसको उक्त परिवर्तित स्वरुपमा अहिले बनाइएका खोप कति प्रभावकारी हुने या नहुने भन्ने विषयमा फेरि एकपटक विभिन्न तर्कहरु सतहमा आइरहेका छन् ।

कोरोना संक्रमणले आफ्नो रफ्तार बढाइरहँदा अष्ट्रियालाई पनि नराम्रोसँग धक्का दिएको छ । विशेषगरी गृष्म (विन्टर) सिजनमा पर्यटक लोभ्याउने पहाड तथा त्यसमा आयोजना गरिने साहसी तथा मनोरन्जनात्मक खेल स्की (हिउँको डाँडोबाट चिप्लिँदै तल बेसी झर्ने खेल) का कारण खर्बौं रुपयाँको चलायमान ब्यापार हुने समय कोरोना संक्रमणको पारो र त्यसकै कारण गर्नुपरेको बाध्यात्मक बन्दाबन्दीका कारण राज्यले पाउने कर त पाएको छैन नै, त्यसमाथि लाखौँको संख्यामा यहाँका नागरिक तथा रोजगारीका लागि तेश्रो मुलुकबाट आएका मानिसहरुले रोजगारी गुमाएका छन् । यसले अर्थतन्त्रलाई नराम्रो धक्का दिएको प्रस्ट देखिएको छ ।

यो सामग्री तयार गर्दैगर्दा अष्ट्रियामा तेस्रो कडा बन्दाबन्दी सुरु गरिएको छ । विशेष कामबाहेक मानिसहरुलाई बाहिर निस्कन बन्देज लगाइएको छ । अघिल्लो वर्ष यतिबेला खुट्टा टेक्न पनि मुस्किल हुने केही स्थानमा शनिबार राति लिइएका तस्बिरमा यस्तो देखियो राजधानी भियना । हेरौँ केही दृश्य-