अङ्ग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ ।
‘नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलङ्कारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ, जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो,’ नेपाली टोपी प्रतिष्ठानले प्रेश विज्ञप्तिमा भनेको छ- ‘ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाकाटोपीलाई नेपालको आफ्नै होइन, आयातीत हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ, जुन एउटा अपभ्रम र मिथ्या मात्र हो ।’
नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रूपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवम् नेपाली मूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ । यो अभियानलाई थप ब्यापक र ब्यवस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैरनाफामुलक ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ ।
साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा हाल सम्ममा ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।
नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । विश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपली मूलका सबै नागरिकहलाई यही पुस १७ गते आफ्नो अवस्थाअनुकुल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई व्यापक रूपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिल गरिएको छ ।
सामाजिक सन्जाल चौतारी र दौँतरीमा नेपाली टोपी लगाएर खिचेको तस्बिर पठाउनेमध्येका एक जना विदेशमा बस्ने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट ‘संस्कृति तथा सदभावना राजदूत’को मानार्थ उपाधिले सम्मानित गरिने जानकारी सो प्रतिष्ठानका मानार्थ उपाधिले सम्मानित भएका दीपक न्यौपानेबाट प्राप्त भएको छ ।
प्रतिक्रिया