‘नेकपा-कलह’ साम्य तुल्याउन सफल रहला चिनियाँ टोली ?

‘नेकपा-कलह’ साम्य तुल्याउन सफल रहला चिनियाँ टोली ?



एमाले र माओवादी पार्टीबीच एकताको घोषणा हुँदा रत्तिभर नाम नजोडिएको छिमेकी चीन सत्तारुढ नेकपा विभाजनपछि उक्त दललाई पुनः एकीकृत तुल्याउन निकै सक्रिय देखिएको छ । यतिबेला नेपालमा चिनियाँ सक्रियता बढेको आधारमा ‘एमाले-माओवादीलाई एक ठाउँमा उभ्याउने भूमिका पनि चीनले नै निर्वाह गरेको त थिएन ?’ भन्ने जिज्ञासाका साथ चासो र चर्चा बढेको छ, नेपालको राजनीतिक वृत्तमा ।

यसबारे खुलासा हुँदै जाला । यतिबेलाचाहिँ आइतबार ‘अनौपचारिक’ तवरमा नेपाल आइपुगेको र नेपाल उत्रिएलगत्तैदेखि राजनीतिक भेटवार्तामा सक्रिय रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधि मण्डलमाथि राजनीतिमा चासो र सरोकार राख्ने सबैको दृष्टि केन्द्रित हुन पुगेको छ ।

आइतबार दिउँसो चाइना एयरको विशेष विमानबाट काठमाडौं आइपुगेको चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका राजन भट्टराईले प्रधानमन्त्रीसँगको भेटवार्ताबारे ट्वीटरमार्फत जानकारी दिए पनि उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा के कुराकानी भयो भन्ने खुलाउन सकेका छैनन् ।

नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको चिनियाँ टोलीले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीसँग भेटघाट गर्नुअघि राष्ट्रपति विद्या भण्डारीसँग शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । सत्तारुढ नेकपाको आन्तरिक कलह बढेपछि विवाद समाधान गर्न र दुवै पक्षलाई शान्त राख्न यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पटक-पटक दर्शाएको सक्रियता ‘फलदायी’ नरहेपछि राष्ट्रपति सी चिनफिङले गुओ यझाउलाई विशेष दूत बनाएर नेपाल पठाएका हुन् भन्ने कोणबाट ब्याख्या, विश्लेषण र चर्चा यतिबेला चुलिएको छ । उपमन्त्री यझाउको टोलीले दुई खेमामा विभाजित नेकपाका नेताहरूलाई एकताका लागि दबाब दिने बताइन्छ ।

चिनियाँ प्रतिनिधिमण्डल सोमबार बिहान नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेको छ । दाहालसँग भेटवार्तालगत्तै चिनियाँ टोली माधव नेपालसँग छलफल गर्न जाने र टोलीले पूर्वसभामुख कृष्णबहादुर महरालगायतलाई समेत भेट्ने बताइएको छ ।

ज्ञातव्य छ, २०७४ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै पनि उपमन्त्री गुओ यझाउ काठमाडौं आएका थिए । उपमन्त्री यझाउको आकस्मिक नेपाल यात्रा र उनको टोलीद्वारा यहाँ गरिएका राजनीतिक भेटवार्ताहरू फुटको औपचारिक घोषणा हुन बाँकी नेकपाको कलह साम्य गर्न कति सार्थक रहला भन्ने प्रश्न भने अद्यापि कायम नै रहेको छ ।