जन-हृदयमा बास बसेका राष्ट्रप्रेमी राजाको सम्झनामा…

जन-हृदयमा बास बसेका राष्ट्रप्रेमी राजाको सम्झनामा…



सुरेन्द्रमान अमात्य, बेल्जियम

आज २०७७ साल पौष १४ गते स्वर्गीय राजा वीरेन्द्रको ७५औँ जन्मजयन्तीको सम्झनामा मौसुफ सरकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मौसुफको जीवनी र शासन कालका महत्वपूर्ण घटनाहरू बारे एउटा छोटो स्मरण प्रस्तुत गर्दैछु ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म २४० वर्षभन्दा बढि इतिहास बोकेको शाहवंशीय १०औँ राजाको हैसियतमा स्वर्गीय राजा महेन्द्र र स्वर्गीय रानी कान्ति ईश्वरी राज्यलक्ष्मी शाहको कोखबाट भएको हो ।

मौसुफको प्राम्भिक शिक्षादीक्षा दार्जिलिङको सेन्ट जोसेफ स्कुलबाट भएको थियो । उच्च शिक्षा बेलायतको इटन कलेज, जापानको टोकियो युनिभर्सिटी र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट हासिल गरिबक्सेको हो ।

२०२८ साल माघ २७ गते तत्कालिन राजा महेन्द्रको स्वर्गारोहणपछि २०२८ साल फागुन २८ गते तत्कालिन युवराजाधिराज वीरेन्द्रको राज्यारोहण भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्र सदा प्रशन्न मुद्रा, साधारण जीवन, शालिन र दयालु स्वभावको राजा होइबक्सिन्थ्यो । मौसुफको लवाइखवाइ जीवनशैली कस्तो छ भन्ने कुरा त हामी नेपालीले मौसुफको निवास स्थानको अवलोकन गरेर नै जानेका छौँ । शाहवंशीय राजाहरूमध्ये राजा वीरेन्द्रलाई साह्रै प्रजतान्त्रिक राजाको हैसियतले हामी चिन्दछौँ । अति प्रजावत्सल राजा होइबक्सेकोले आफ्ना जनताप्रति कति चिन्तित होइबक्सिन्थ्यो भन्ने कुरा माओवादी युद्धताका तत्कालिन प्रधानमन्त्री गिरिजा कोइरालाले रोल्पाको होलेरीमा माओवादी नेताहरूको बैठकमा सैनिक हस्तक्षेप गर्ने प्रस्ताव गरिँदा मौसुफबाट ठाडै अस्वीकार बक्सी हुकुम भएको थियो- ‘उनीहरू पनि नेपाली नै हुन्, नेपालीले नेपालीलाई मार्नु हुँदैन ।’

स्वर्गीय राजा वीरेन्द्रको शासनकालमा भएका महत्वपूर्ण कार्यहरू :

१. राजा वीरेन्द्रको राज्याभिषेक समारोह २०३१ साल फागुन १३ मा सम्पन्न भएको थियो । उक्त राज्याभिषेक समारोहमा विश्वका ६० राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । सोही अवसरमा स्वर्गीय राजा वीरेन्द्रबाट ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भनी प्रस्ताव राखिबक्सेको थियो । अमेरिका, बेलायत, फ्रान्स र चीन जस्ता राष्ट्र संघका सदस्यहरूसहित विश्वका १२० भन्दा बढि (भारत तथा तत्कालिन सोभियत संघबाहेक) राष्ट्रहरूले समर्थन गरेका थिए । शान्तिक्षेत्रको प्रस्तावको मूल मर्म भनेको नेपाल एउटा सानो देश तर बफर स्टेट नभइ एक स्वतन्त्र सर्वभौमसत्तासम्पन्न मुलुक भएको हुनाले कतैबाट हस्तक्षेप नहोस् भन्ने नै थियो । साथै नेपालले लामो समयदेखि स्वावलम्बन गरिआएको असंलग्न परराष्ट्र नीतिमा आधारित देशको परराष्ट्र नीतिलाई अझ व्यापक बनाउनु थियो ।

२. नयाँ शिक्षा प्रणाली – स्वर्गीय राजा वीरेन्द्रले बाल्य र युवा कालदेखि नै अध्ययनको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा अध्ययन गरिबक्सेको हुनाले त्यहाँको शिक्षा प्रणालीबाट प्रभावित होइबक्सेको थियो । नेपालको परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गरी प्राविधिक तथा रोजगारीमूलक शिक्षाको आवश्यकता महसुस गरिबक्सी २०२८ सालमा नयाँ शिक्षा प्रणालीको घोषणा गरिबक्सनुमा त्यसैको प्रभाव परेको बुझ्न सकिन्छ । तर, नयाँ शिक्षा लागु गरिँदा नेपालको परम्परागत ऐतिहासिक, सामाजिक, नैतिक, संस्कृतिमा आधारित मूल्य-मान्यता नै अन्त हुने गरी पाश्चात्य प्रणालीमा आधारित शिक्षा योजनाको शुरुवात गरियो । यसैकारण आजका विद्यार्थीहरूमा नैतिकता, सामाजिक मूल्य-मान्यता र ऐतिहासिक ज्ञानमा स्खलन आएको छ । समयअनुसार शिक्षा प्रणालीमा पनि परिवर्तन जरुरी छ तर देशको इतिहास, सामाजिक मूल्य र मान्यता र नैतिक शिक्षाको पनि त्यति नै महत्व हुन्छ । राजा वीरेन्द्रले जुन प्रकारको शिक्षा प्रणालीको कल्पना गरि बक्सेर नीति अगाडि सारिबक्स्यो, त्यसको मर्म अमेरिका र बेलायतबाट प्रशिक्षित विज्ञहरूले बुझ्न सकेनन् ।

३. प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रले नेपालको संविधान २०१९ लाई अझ बढि प्रजातान्त्रिक र फराकिलो बनाउने हेतुले संविधान सुधार आयोगको गठन गरी संविधान संशोधन गरियो । तर विडम्बना के भयो भने संशोधनमा संलग्न ब्यक्तिहरूको अकर्मन्यताको कारण झन् संकुचित तुल्याए । जसअनुसार प्रत्यक्ष निर्वाचित प्रणालीको उल्टै टीके प्रथाद्वारा स्थानीयदेखि राष्ट्रिय प्रतिनिधिहरूको चयन गरियो । यो प्रथाले जनता आक्रोशित भए र परिणामस्वरुप पञ्चायत ब्यवस्था झन् निर्बल हुँदै गयो ।

४. विकेन्द्रिकरणको सिद्धान्तलाई अरु बढि विस्तार गर्न नेपाल अधिराज्यलाई ५ विकाश क्षेत्रमा विभाजित गरी विकाश निर्माण जिल्ला-जिल्ला गाउँसम्म पुर्‍याउने काम भए । यो पनि एउटा महत्वपूर्ण काम हो ।

५. पास्किस्तानका तत्कालिन प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको विरोधमा विद्यार्थी-आन्दोलनको सानो झिल्कोलाई सही तरिकाले ब्यवस्थापन नगर्दा राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरिबक्सनु पर्‍यो । २०३६ साल वैशाख १६ गते सुधारिएको पञ्चायत वा बहुदलिय ब्यवस्था जनमत संग्रहद्वारा रोज्न जनतालाई अवसर प्रदान गरियो, जसमा सुधारिएको पञ्चायतको पक्षमा ५५ प्रतिशत र बहुदलिय पक्षमा ४५ प्रतिशतको परिणामअनुसार पञ्चायत ब्यवस्थाले जित हासिल गर्न सफल भयो ।

तर बेला–बेला पञ्चायत ब्यवस्थाविरुद्ध आन्दोलन हुने क्रम जारी नै रह्यो । योभन्दा पहिले नै भारतमा निर्वासित रहनुभएका २०१५ सालको आमनिर्वाचनमा निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला मेलमिलाप कार्यक्रम लिएर स्वदेश आउनुभएको थियो, तर त्यसताका उहाँको मेलमिलाप प्रस्ताव पञ्चायती शासकहरूले स्वीकार गरेनन् । यदि बीपी कोइरालाको नीतिलाई स्वीकारी अघि बढेको भए सायद देशले आज यो नियति भोग्नु पर्दैन थियो होला । साँच्चै भनौँ भने दरबार हत्या काण्ड पनि नहुन सक्थ्यो ।

जनमत सङ्ग्रहमा पैंतालिस प्रतिशत मत प्राप्त गर्नेको संख्या निरन्तर बढ्दै जाने क्रम पञ्चायती शासकले रोक्न सकेनन् । जसको फलस्वरुप ०४६ सालको अन्ततिर आन्दोलन शुरु भयो । उक्त आन्दोलनमा प्रत्यक्ष रूपमा भारतको हस्तक्षेपकारी भूमिका रहेकाले लामो समय नेपालले नाकाबन्दी भोग्नुपर्‍यो ।

भारतीय नेताहरू काठमाडौको चाक्सिबारीस्थित गणेशमानसिंहको निवासमा ओइरो लाग्न थाले । यही सिलसिलामा भारतीय प्रधानमन्त्रीका दूतले राजा वीरेन्द्रसमक्ष पञ्चायती व्यवस्था बचाउने नाममा बेग्लै प्रस्ताव अघिसारे, जो राजा वीरेन्द्रबाट ठाडै अस्वीकार गरिबक्सियो । विदेशीको अगाडि झुक्नुभन्दा आफ्नै जनताको अगाडि झुक्छु भन्दै जनताको मागबमोजिम संवैधानिक राजतन्त्रसहित बहुदलिय प्रजातन्त्र स्वीकार गरियो ।

स्वर्गीय राजा वीरेन्द्रबाट विश्वका विभिन्न राष्ट्रध्यक्ष, सरकार प्रमुखहरूको निम्तालाई स्वीकारी, राष्ट्रसंघको सभा, विश्व असंलग्न शीर्षस्थ सम्मेलन तथा विश्व खाद्य संगठनको सम्मेलन जस्ता सभाहरूमा भाग लिने क्रममा विश्वका अधिकांश मुलुकहरूको भ्रमण भएको थियो । ती भ्रमणमध्ये सन् १९८३ मा संयुक्त राज्य अमेरिकाको भ्रमणको क्रममा अमेरिकी कंग्रेसको सिनेट तथा प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन भएको थियो । मौसुफ सरकारलाई अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट अति न्यानो स्वागत भएको थियो ।

त्यस्तै, १९९२ मा फ्रान्सको राजकीय भ्रमण पनि अति स्मरणयोग्य छ । किनकि मौसुफ सरकारको फ्रान्स सरकारले उच्च सम्मान गरेको पङ्क्तिकारकै आँखाले देख्ने सौभाग्य मिलेको थियो । राजा वीरेन्द्र विशेष हेलिकोप्टरबाट फ्रान्सको राजधानी पेरिसको सांजेलिजे भन्ने अति सुन्दर स्थानसम्म सवारी भएको थियो । त्यसपछि रानीलाई बग्गीमा राखी सैनिक परेडसहित अगाडि-पछाडि रिसल्लाको फौजसहित अत्यन्त सम्मानपूर्वक राष्ट्रपति भवन इलाजा प्यालेस सवारी चलाएर फ्रान्सका राष्ट्रपति फ्रास्वां मितेराले अति न्यानो स्वागत गरेका थिए ।

स्वर्गीय राजा वीरेन्द्रले तत्कालिन युवराजाधिराजको हैसियत तथा राजा भएपछि राजकीय भ्रमणमा विभिन्न सम्मेलनमा भाग लिन १० पटक चीनको र बेलायतकी महारानी एलिजाबेथको निम्तोमा बेलायतको राजकीय भ्रमण गरिबक्सेको थियो ।

त्यस्तै स्वर्गीय राजा वीरेन्द्रको निम्तो स्वीकार गरी भारत, चीन, जर्मनी, फ्रान्स, स्पेन, जापान, बेलायतका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूले नेपाल भ्रमण गरेका थिए ।

राष्ट्रवादी राजा वीरेन्द्रले शुभराज्यभिषेकको अवसरमा नेपाललाई शान्तिक्षेत्रको प्रस्ताव गरी विश्वसामु नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा मात्र हैन नेपालको असंलग्न परराष्ट्र नीतिलाई अझै उचाईमा पुर्‍याउन अहम् भूमिका खेलिबक्सेको थियो । विकासको मोडलमा मुलुकलाई केही वर्षमै एसियाली मापदण्डमा पुर्‍याउने उद्घोषका साथ काम अघि बढेको थियो ।

पञ्चायतको सक्रिय राजतन्त्रमा भन्दा अझ संवैधानिक राजसंस्थामा राजा वीरेन्द्रको छवि शालिन र लोकप्रिय रहेको थियो । संवैधानिक कार्यक्षेत्रलाई राष्ट्रप्रमुखको हैसियतमा हरदम सम्मान र सहयोग गर्दै नेपालको राष्ट्रिय गौरव र पहिचान अक्षुण्ण रहनुपर्छ भन्ने विषयमा जहिले पनि सजग थिए ।

यस्ता जनप्रेमी राजाको २०५९ साल जेष्ठ १९ गते नेपालको इतिहासमा अति कहालीलाग्दो घटनाबाट अन्त्य भयो । यसमा पनि राजाको राष्ट्रप्रेम र राष्ट्रियतामाथिको अडानले देशी-विदेशी षड्यन्त्रको शिकार बन्नुपर्‍यो भन्ने चर्चा सबैतिर छ । राष्ट्रियता, विकास र नैतिकताका मानक राजा वीरेन्द्र नेपालको इतिहासको हरेक कालखण्डका चीरस्थायी पात्र हुन् । राजा वीरेन्द्रको वंशविनाश सामान्य र स्वाभाविक छैन । यसका अनेक आयाम र पाटा छन्, यसको निर्मम समीक्षा हुनु जरुरी छ । स्वर्गवासी राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा मौसुफप्रति हार्दिक श्रद्धाञ्जली !
जय राष्ट्रवाद ।