परिपक्वतापछिको विवाहको आनन्द बेग्लै !

परिपक्वतापछिको विवाहको आनन्द बेग्लै !


  • विष्णु नेपाली

सुर्खेत निवासी एक महिलाको उमेर चार दशक काट्न थाल्यो । उनी माध्यमिक तहमा अध्यापन गर्छिन् । विवाहको लागि धेरै प्रस्तावहरू आए तर स्थायी जागिर खाएर मात्रै विवाहको लागि सोच्ने उनको पहिलो प्राथमिकता थियो । जागिर भयो भने आत्मनिर्भर भइन्छ र श्रीमान् वा सासु-ससुराबाट हुने हिंसा ब्यहोर्नु पर्दैन भन्ने उनको धारणा थियो ।

त्यस्तै, बारानिवासी एक जना महिलाले ३५औँ वसन्त पार गरिन् । उनी सामाजिक कार्यकर्ता हुन् । उनमा पारिवारिक जिम्मेवारी थियो र परिवार धान्न कमाउनैपर्ने बाध्यता पनि थियो । उमेर नपुगी गरेको विवाहबाट सृजित पारिवारिक विचलन, हिंसा, दासत्व, परनिर्भरता र बन्दी जीवन भोगाइका तमाम कथाहरू सुनेकी छिन् र आफू त्यो हिंसाको चंगुलभित्र फस्न नचाहेको बताउँछिन् । परिपक्वतापछिको वैवाहिक जीवन सफल र सुखमय हुनेमा विश्वास गर्छिन उनी ।

जाजरकोटनिवासी एक पुरुषले ३० वर्षपछि विवाह गरे । घरपरिवार र समाजबाट सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने दबाब थुप्रै खेप्नु पर्‍यो तर उनको प्रमुख उद्देश्य पढाई पूरा गर्नु थियो र राम्रो जागिर खाएर मात्रै घरजम गर्नेमा उनी दृढ थिए । आफू सक्षम भएपछि रोजेको केटी पाइने र पारिवारिक खुशी प्राप्त हुनेमा विश्वस्त छन् उनी ।

माथिका प्रतिनिधिमूलक उदाहरणहरू हाम्रो समाजमा कमै मात्र पाइन्छन् । छोरीको सन्दर्भमा कुरा गर्‍यो भने ‘जति पढे पनि आखिर त्यही घर सम्हाल्ने हो, छोराछोरी जन्माउने हो, बुढीकन्या भएर बस्छौ कि क्या हो, अहिलेसम्म माइतमै बस्दा लाज लाग्दैन, कोहीसँग रिलेशनमा छ कि क्या हो, विवाह गर्नुपर्ने मान्छे विदेशबाट आउनुपर्ने हो कि क्या हो’ भन्ने जस्ता निरुत्साहित पार्ने वाक्य सुन्नुपर्छ भने छोराहरूको कुरा गर्दा ‘अहिलेसम्म किन विवाह नगरेको, केही शारीरिक खराबी छ कि’ भन्ने जस्ता शंका-उपशंका गर्ने गरिन्छ । यथाशीघ्र विवाह गरेर पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने अपेक्षा गरिन्छ, जसले गर्दा छिट्टै विवाह गर्न उत्प्रेरित गर्छ । यी अपेक्षाहरू कुनै दार्शनिकका अन्वेषणबाट प्राप्त भएको नभई हामी हुर्के-बढेका समाजकै उपज हुन् ।

अझ धेरैजसो ठाँउमा १५/१६ वर्षकै उमेरमा विवाह गरिदिने प्रचलन देखिन्छ । तराइमा जति उमेर बढि भयो त्यति धेरै दाइजो दिनुपर्ने, छोरीलाई धेरै समय घरमा राखे भनेजस्तो ज्वाइँ नपाइने र समाजले कुरा काट्ने गरेको देखिन्छ भने पहाडमा विवाह चल्ने नातागोताबीच चुराधागो गरिदिने, देउतालाई भाकल गर्ने, मेला-महोत्सवमा मन परेकोलाई जबर्जस्ती रक्चेर लिने चलन र सानै उमेरमा घरजम गर्नुपर्ने, समयमै सन्तान हेर्ने चहाना र घरमा कामदार थप्न छिटै विवाह गर्ने गरिन्छ ।

नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । उक्त विवाह स्वतः बदर हुने प्रावधान छ । बालविवाहको कसुर गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुन्छ भने बालविवाह गराउनेलाई पनि सजाय गर्ने व्यवस्था रहेको छ । बालविवाह भए गरेको थाहा पाएको मितिले तीन महिनाभित्र नजिकैको प्रहरी कार्यालयमा जोसुकैले पनि उजुरी गर्न सक्छ । तर हाम्रै समुदायमा १६/१७ वर्षका नानीहरूले सानो सानी काखमा च्यापेको दृश्य यत्रतत्र देख्न पाइन्छ ।

कानुनको अज्ञानता, कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुनु, झण्झटिलो र खर्चिलो कानुनी प्रक्रिया, न्याय खोज्दा मान-प्रतिष्ठा र पारिवारिक साख गुम्ने मान्यता राख्नु, बालविवाहलाई अन्त्य गर्ने नीति-रणनीतिहरूको प्रभावकारी कार्यान्वयनमा राज्यको प्राथमिकता कम पर्नु, परम्परागत हानीकारक सामाजिक मान्यताहरूलाई सहर्ष स्वीकार्नु र सानै उमेरमा विवाह गर्दा हुने बेफाइदाहरू जस्तै- यौन तथा प्रजनन स्वास्थ्यमा समस्या, पारिवारिक विचलन हुने, परनिर्भरताले धेरै हिंसा सहनुपर्ने र दासत्वको जीवनमा बाँच्नुपर्ने जस्ता विषयमा घरपरिवार, विद्यालय र समाजमा यथेष्ट मात्रामा छलफलको विषय नबन्दा साथै ढिलो विवाह गर्दाका फाइदाहरूको विषयमा छलफल हुनुभन्दा पनि समाजले लगाउने विभिन्न लान्छनाका कारण बालविवाहका घटनाहरू दिन-प्रतिदिन बढेको पाइन्छ । विभिन्न अध्ययनअनुसार नेपालमा ४३ प्रतिशत बालविवाह हुने गरेको पाइन्छ ।

परिपक्व भएपछि गरेको विवाहले ल्याएको सफलतालगायत अर्काको अधीनमा बस्दा आफ्नो मर्जीअनुसार जीवन जिउन नसकिने, पारिवारिक झन्झट र अर्काको बोझ बन्नुपर्ने विषयहरूमा पर्याप्त छलफल हुनु पर्दछ र, ढिला विवाह गर्दा भएका सफलताका कथाहरूलाई नमुनाको रूपमा आमतवरले छलफल गर्ने र त्यस्ता सफल व्यक्तिहरूलाई पुरस्कृत गर्नु पर्दछ । परिवर्तन सम्भव छ भन्ने कुरालाई सुनिश्चित गर्ने र सकारात्मक परिवर्तनलाई बढवा दिने सूचना प्रवाह गर्ने, बालविवाहलाई सामाजिक अपराधको रुपमा हेर्ने वातावरण तयार पार्ने, नियमनकारी निकायलाई थप प्रभावकारी बनाउने र बालविवाह न्यूनीकरणका लागि बनाइएका संरचनालाई सक्रिय बनाउन र कानुनको व्यापक जानकारी हुनु पर्दछ ।

(लेखक सामाजिक अभियन्ता हुन् ।)