केका लागि सडकमा ओर्लने जनता ?

केका लागि सडकमा ओर्लने जनता ?


  • सुन्दर शर्मा


हुन त पङ्क्तिकारलाई राजनीतिक विषयमा लेख्न त्यति जाँगर चल्दैन, तर जब–जब विभिन्न अप्रिय घटनाका दृश्यले समाजमा कम्पन ल्याउँछ अनि केही न केही लेख्न बाध्य बनाउँछ ।

वर्तमान नेपाली जनताले नेकपा (केपी)लाई पाँच वर्षको लागि देश र जनताको भलाई र विकासको काम गर्दै सत्ता चलाउ भनी भोटसहितको जिम्मेवारी दिएका थिए । तर, नेकपाभित्रको अन्तरकलह र चञ्चल प्रवृत्तिका केही स्वार्थी नेताका कारण सरकार सङ्कटमा पर्न गयो, यो सबैलाई थाहा भएकै कुरा हो ।

काम गर्दैगर्दा सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारियो भनी स्वयम् प्रधानमन्त्रीले धेरै पटक भनेको पनि सुनियो । सरकारमाथि प्रतिपक्षले गर्ने विरोध र असहयोग उल्टो आफ्नै पार्टीभित्रैबाट हुन गयो, जो हामी सबैले स्पष्ट देखेका छौँ । बरु सरकारलाई कुनै काम गर्न दिइएन । जे गऱ्यो प्रश्नमाथि प्रश्न, जुन काम सुरु गऱ्यो खुराफाती आलोचना, काम गर्नै नदिने भएपछि जनतामाझ जाने निधो गरे प्रधानमन्त्रीले । यसमा रोइलो किन ?

कि त काम गर्न दिनुपऱ्यो कि त चुनावमा गएर आफू त्यो ठाँउमा पुगि काम गरि देखाउनुपऱ्यो । पङ्क्तिकारको बुझाइमा प्रम केपीले गरेको यो निर्णयले देशको अहित हुने कुनै कारण छैन । प्रधानमन्त्रीको यस कदमले देशलाई दुर्घटनामा पर्नुबाट बचाएको छ । पार्टीहरू फुटे बरु फेरि केही समयपछि जुटिहाल्लान्, तर देश नै रहेन भने के गर्ने ?

प्रधानमन्त्री केपीले गरेका सबै काम जायज छन्, सही ढङ्गले र कानुनसम्मत रूपमा देश र जनताको लागि अहोरात्र खटेका छन् त म भन्दिनँ । कतिपय सजिलै गर्न सकिने काम पनि गरेका छैनन् । यसमा उनी दोषी नै छन्, तर माधव गुटले जस्तो देश र जनतालाई बेइमानीचाहिँ गर्दैनन् भन्नेमा म ढुक्क छु ।

यो समयमा केपीले गर्न चाहेको भए गर्न सक्ने तमाम काम थिए, तर किन हो उनले गरेनन् । केपीले गर्नैपर्ने काम के थिए र उनले गरेका राम्रो–नराम्रो कामको चर्चा कुनै दिन अवश्य गरौँला । पङ्क्तिकार अहिले विभिन्न राजनीतिक दलले आह्वान गरेको विरोधसभामा जनता सडकमा किन र कसका लागि जाने भन्ने सवालमा केन्द्रित हुँदैछ ।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म करिव तीन सय पटक प्रधानमन्त्री भेट्न पुगेका प्रचण्डले कुनै एक भेटमा जनताका समस्याका कुरा उठाउन आवश्यक ठानेनन्, मात्र आफ्नो ब्यक्तिगत भागबण्डाका कुरा उठाइरहे, उठाइरहे । कोरोना सामग्री खरिदमा त्यति ठूलो घोटाला हुँदा चुइँक्क बोल्न पनि आवश्यक ठानेनन् प्रचण्डले । कोरोना उपचार निःशुल्क बनाउने न्यायालयको आदेश हुँदाहुँदै पनि बिरामीको हातमा लाखौँ रुपियाँको बिल थमाइएको छ । यी र यस्ता समाचार मिडियामा छ्याप्छ्याप्ती आउँदा पनि प्रचण्डले विरोधमा एक शब्द खर्च गर्नु आवश्यक ठानेनन् । विरोधस्वरूप सडकमा आउने त परै जाओस्, कोरोनाको असरले भारतबाट नेपाल फर्कने बेलामा सिमानाकामा जनताको हरिबिजोग हुँदा टुलुटुलु हेरेर बसे, सरकारलाई खबरदारी गरेनन् । जनताले त्यो बेला बलिन्द्र धारा आँसु बगाउँदा कहाँ थिए होलान् यिनीहरू ?

सहयोगी दाताहरूको सहयोगमा खुलामञ्चमा खाना खान बसेका भोकाप्यासा गरिब जनतालाई प्रशासनले डण्डा लगाइ त्यहाँबाट धपाउँदा प्रचण्ड–माधवहरू कहाँ थिए ? दिनहुँ कलिला किशोरीहरू बलात्कारको सिकार हुँदा तनको न्यायको लागि खै बोलेको ? सारा शैक्षिक सस्था अस्तब्यस्त पारिएका छन् कोरोनाको बहानामा । लाखौँ विद्यार्थी घरभित्रै थुनिएका छन्, स्कुल–कलेज बन्द गरिएका छन्, यो अवस्था सुल्झाउन खै बोलेका नेताहरू ?

होटेल ब्यवसाय ठप्प जस्तै छ, लाखौँ जनताले रोजगारी गुमाएका छन्, जनताको चुलो बल्न मुस्किल छ । यस्तो बेलामा आफुले भाग पाएन भनेर विरोध गर्न अलिकति पनि लाज लागेन नेताज्यू ? यी तमाम जनताका समस्या समाधानको लागि सरकारलाई दबाब दिँदै विरोधस्वरूप सडकमा आउनुपर्ने थिएन र तपाईंहरू ? त्यतिबेला जनतालाई साथ दिएको भए पो अहिले तपाईंहरूलाई पर्दा जनताले साथ दिन्थे ।

यो कठ्याङ्ग्रिने जाडोमा तुसारोले भिजेको चिसो सडकमा तराई मधेसका किसान आफूले पाउनुपर्ने उखु बेचेको पैसाको लागि चिसो भुइँमा बस्न बाध्य हुँदा कता हुनुहुन्थ्यो प्रचण्ड–माधव तपाईंहरू ? विगत ६ वर्षदेखिको उखु बेचेको भुक्तानी माग्दा कुनै पार्टीका नेता भनाउँदाले उनीहरूको कुरा सुनेनन् । फेरि पनि सरकारले उधारो सम्झौता गर्न बाध्य पारिएका किसानको पक्षमा सडकमा आउन त परै जाओस् दुई शब्द बोल्न पनि आवश्यक ठानेनन् प्रचण्ड माधवले । यी किसानलाई न कुनै सरकारी राहत, न कुनै सहुलियत । आफूले बिक्री गरेको उखुको भुक्तानी माग्दामाग्दै ज्यानै गुमाउनु पर्ने कस्तो पीडादायी अवस्था, कस्तो विडम्बना ! आखिर कृषि र उद्योगमन्त्री तपाईंहरूकै मान्छे थिए क्यारे । किन यो बेथिति मुकदर्शक भएर हेरिरहनुभयो, केही बोल्न सक्नुभएन किन ?

गरिव किसान र श्रमिकका नाममा राजनीति गर्ने कम्युनिस्ट सरकार छ हाल । अफसोच ! यही कम्युनिस्ट सरकारको पालामा गरिव जनता बढि मारमा परेको देखियो, बढि तड्पिएका देखियो । कोरोनाका कारण कति मानिस एक छाक खाना खान नपाएर तड्पिएका देखिए । यस्तो दर्दनाक अवस्थामा किन केही आवाज उठाउनुभएन, प्रचण्ड-माधव तपाईंहरूले ?

चुनावताका यिनीहरूले आमजनतालाई जुन समृद्धिको सपना बाँडेका थिए, खै त्यो सपना साकार पार्ने कार्यक्रम ? यतिबेला नेकपामा दुई गुटको महा सङ्ग्राम नै चलेको छ । दुवै गुटलाई देश र जनताको भन्दा आफ्नो ब्यक्तिगत शक्ति र हैसियतको चिन्ता छ ।

प्रचण्डले केपी ओली केही ब्यक्तिको साँघुरो घेरामा बसेका छन् र उनीहरूको स्वार्थमा मात्र काम गर्छन् भन्दैगर्दा आफूतिर पनि यसो हेरेको भए बेस हुने थियो । आफूचाहिँ बुहारी, छोरी, जुवाइँ, भाइ–भतिजा जस्ता अत्यन्तै पारिवारिक घेरामा बस्ने तपाईंले ओलीलाई त्यो आरोप लगाउन अलिक सुहाउँदैन कि ?! के कथित जनयुद्ध लड्दा अहिले प्रचण्डका वरिपरि रहेका पात्रहरू होमिएका थिए त युद्धमा ? यो प्रश्न जनताको हो । घर–परिवार, पढाइका साथै जीवनलाई नै दाउमा राखेर हातमा बन्दुक समाउँदै युद्धमा होमिएका ती ब्यक्ति जनताका रूपमा ‘भोट’ मात्र भए । यी र यस्ता जनता नेताका लागि आफ्ना कहिले हुन सकेनन् ।

आज रातारात करोडपति बनेका नेता तथा कार्यकर्ता भनाउँदाहरू हिजोको जनयुद्धमा साँच्चै होमिएका थिए त ? युद्ध लडेका जहाँको त्यहीँ, आसेपासेचाहिँ सुख–सुविधामा ढलिमलि । के जनताले चाहेको यही थियो त कमरेड प्रचण्ड ? यी जनताको बारेमा सोच्ने फुर्सद साँच्चै छैन त कमरेड तपाईंलाई ?

‘प्रचण्डका घरभेटी’ नामले चिनिएका ठेकेदार शारदाप्रसादले ठेक्का लिएका सडकहरूको वर्षौंदेखि पारेको दुर्गति के प्रचण्डले देखेकै छैनन् त ? सडकको काम छिटो सकाउन लगाउने दबाबस्वरूप जनताले सडकमा विरोध गर्दा तपाईं किन त्यहाँ बोल्नु सक्नुभएन ? आफ्नै घरभेटीले पाएको ठेक्काको काम समयमै सकाउनुपर्छ है भनी निर्देशन त कमसेकम ठेकेदारलाई दिन सक्नुहुन्थ्यो नि ! आफू एसीवाला गाडीमा सवारी चलाउने, जनताचाहिँ सधैं तपाईंहरूकै कारण अस्तब्यस्त पारिएका सडकको धुलो खाइरहनुपर्ने । यस्तो अवस्था आउनुमा के तपाईं कहीँकतै दोषी हुनुहुन्न त ? यसैलाई भन्छन् त कमरेड देश र जनताको लागि राजनीति गरेको ?

माकुने (माधव कुमार नेपाल)ले चाहिँ के त्यस्तो अनुकरणीय काम गरेर देखाए त्यो १५ वर्ष एमाले–प्रमुख हुँदा र, फेरि उनलाई त्यही कुर्सी चाहियो ? उनी १५ वर्षसम्म पार्टीको सर्वेसर्वा हुँदा पार्टीबाट कसैले विरोध नगर्ने, अहिले पहिलोपटक केपी पार्टी प्रमुख हुँदा भित्तो फोर्ने गरी तँ–तँ र म–म किन ? आखिर यतिविधि हुटहुटी केका लागि ? अहिलेको बिग्रँदो घटनाक्रमको सबैभन्दा दोषी र नालायक पात्र भनेका माकुने नै हुन् भन्दा फरक पर्दैन । आफ्नै पार्टीलाई फुटको दलदलमा धकेल्ने पात्र पनि माकुने नै हुन् ।

पङ्क्तिकारलाई अझै याद छ– पूर्वको अरुण जलविद्युत बनाउन थाल्दा नचाहिँदो बखेडा झिकी विरोध गरेर बन्नै नदिने प्रमुख पात्र यिनै माकुने हुन् । अरुण त्यही समयमा बन्न पाएको भए अहिले हाम्रो अवस्था भिन्न हुने थियो ।

यिनै माकुनेका पिछलग्गु बौद्धिक कहलिएका घनश्याम भुसाल मन्त्री नपाउँदासम्म बहुत आदर्शका कुरा गर्दै कुर्लेको देखियो । यस्ता विद्वान ब्यक्ति मन्त्री बने त राम्रो काम गर्छन् होला भन्ने विश्वास सबैमा थियो । उनै बौद्धिक ब्यक्ति केपीको मन्त्रिमण्डलमा कृषिमन्त्री हुने अवसर पाए । यिनले त अवश्य राम्रो काम गर्नेछन् भन्ने जनचाहना थियो, तर कुर्सीमा पुग्दा पारा उही !

श्रावण महिना सकिनै लाग्दा पनि किसानलाई मल बीउ उपलब्ध गराउन नसक्ने कस्तो नालायक कृषिमन्त्रालय र मन्त्री । वर्षायाम सकिनै लाग्दा पनि मलको अभावमा धान रोप्न नपाउँदा किसान धुरुधुरु रुँदै गर्दा मन्त्री घनश्याम अर्को वर्ष धानखेतिलाई मलको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै थिए । बोल्ने पनि एउटा सिमा हुन्छ । नेताले जे बोले पनि पत्याउनैपर्ने जनताले ? जाबो मल किनेर भित्र्याउन नसक्ने ब्यक्ति कृषिमन्त्री हुन सुहाउँछ ? आफूले उब्जाएको बाली बेचेको पैसा उठाउन सडकमा धर्ना दिएका उखुकिसानको माग सम्बोधन गर्न पनि उचित ठानेनन् यी बौद्धिक मन्त्रीले । यिनलाई काम गर्न कुन कुराले छेक्यो ?

अहिले केपीको विरोध गर्ने प्रचण्ड–माधवहरू जनताका यस्ता समस्यामा कति पटक बोल्नुभयो ? अहिले तपाईंहरूलाई प्रधानमन्त्री, राष्ट्रपति र पार्टीप्रमुख बनाइदिन जनता सडकमा आइदिनुपर्ने । हुन त नेताका लागि यस्ता समस्या झिना–मसिना नै होला ! आफूलाई निकै ठुलो लोकतान्त्रिक र क्रान्तिकारी ठान्नेहरूले यस्तै कठिन समय र परिस्थितिलाई अवसरको रूपमा पनि लिन्छन् !

नितान्त ब्यक्तिगत आरोप–प्रत्यारोपमा तल्लो स्तरको क्षुद्र वाक्य प्रयोग गर्दै गालीगलौजमा उत्रेका र दिनहुँ एकअर्काको खोइरो खन्न तल्लीन यी नेताहरू भोलिका दिनमा सहकार्य गर्नुप¥यो भने कसरी आम्नेसाम्ने अनुहार देखाउलान् ? जङ्गलमा एकै थालमा भात खाएर जनयुद्ध लडेका बाबुराम, वैद्य, विप्लब जस्ता खाँटी साथीहरूसँग त प्रचण्ड साथ रहन सकेनन् भने पदका भोका माधवहरूसँग त झन् कसरी यिनको ‘घर–ब्यवहार’ चल्न सक्ला ? खै हेर्दै जाउँ !

प्रचण्ड–माधवले अहिले झिकेको झगडाको बीउ नितान्त ब्यक्तिगत स्वार्थको हो । यो विवादमा कहीँ–कतै देश र जनताको भलो देखिँदैन । अर्थात्, राष्ट्रिय स्वार्थको विवाद यो हुँदै होइन । अनि केका लागि हामी जनता सडकमा उत्रनुपर्ने ?

अहिले सडकमा देखापरेका केही विद्यार्थीहरू नेताका कारिन्दा जस्ता मात्र देखिन्छन् । साँच्चिकै विद्यार्थी नेता हुन्थे भने विद्यार्थीको हक र अधिकारको लागि आवाज उठाउँथे । अहँ, त्यो कहिल्यै देखिएन, कतै सुनिएन । विविध कारणले कति विद्यार्थी परीक्षाबाट वञ्चित हुँदा, उचित पठनपाठनको ब्यवस्था, आधुनिक शिक्षा प्रणाली, छात्रवृत्तिको उचित ब्यवस्था आदि जस्ता मुद्दा विद्यार्थी नेताले इमानदारीका साथ कहिल्यै उठाएको देखिँदैन, केवल नेताको आदेशमा सडकमा मुड्की बजार्दै नारा–जुलुस गर्ने चरित्र देखियो । हुन त कतिपयको बाध्यता पनि होला नेताको पछि लाग्नैपर्ने !
अहिलेको आन्दोलनलाई बुद्धिजीवी तथा युवाले बिल्कुलै साथ दिनु हुँदैन भन्छु म । हालको अवस्था कुनै दैवी बिपत्तिले निम्त्याएको सङ्कट पनि होइन । आ–आफ्नो ब्यक्तिगत स्वार्थपूर्तिका कारणले निम्तिएको सङ्कट हो । त्यसैले हामी जनता यस कुरामा तटस्थ बस्नु नै उचित हुनेछ ।

जनतालाई कठपुतली बनाउँदै संवेदनहीन तरिकाले ठेस पु¥याउँदै देश र जनताको स्वाभिमानमा आँच आउने गरी फोहोरी राजनैतिक खेल खेल्दा यिनीहरूलाई कत्ति पनि आत्मग्लानी छैन । त्यसैले त यी नेताका सोच र काम दुवै कुरूप लाग्छन् । पार्टी एकीकरण गर्दा जनमत लिएर गरेको भए पो अहिले टुक्रिँदा पक्ष–विपक्षमा जनचासो हुनु । आफूखुशी मिलापत्र गरे आफूखुशी भिन्न भए, अनि केको रोइलो हो सडकमा ? लाजमर्दो ! साहस र जनतामा भरोसा छ भने किन सडकमा उफ्रिराख्ने ? अहिले स्वार्थ बाझिएको छ र तिमी नेता भिन्न छौ, भोलि स्वार्थ मिल्नासाथ फेरि एक भइहाल्छौ । सडकमा आएर किन दुनियाँ हसाउँछौ ?

छताछुल्ल भइ पोखिने गरी विष घोल्दै एकआपसमा यिनीहरूले पोल खोलाखोल गर्दा लाजलाई पनि लाज लागी शरमले घोप्टेमुण्टो लाउनुपर्ने कस्तो दिन ल्याए यी बुद्धिमा बिर्को लागेका नेताले !?

त्यसैले त शिशिर योगीले यस्तो गीत गाए होलान्–
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु,
भेटे कहीँ बताए हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही !